धार्मिक पर्यटन प्रवर्द्धन र धर्मशाला निर्माणका लागि रताैलीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ
पराशर ऋषिको तपोभूमि र भगवान वेदव्यासको जन्मस्थलका रूपमा चिनिने दमौलीनजिकै व्यास नगरपालिका–१ रतौलीस्थित श्री जलेश्वर महादेव मन्दिर परिसरमा मङ्सिर ६ गतेदेखि १३ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८२ आयोजना हुने भएको छ ।

मन्दिरको संरचना विस्तार, धार्मिक–पर्यटकीय विकास र भक्तजनका लागि बहुउद्देश्यीय धर्मशाला निर्माण गर्ने उद्धेश्यका साथ महायज्ञ आयाेजना गरिएको हाे । करिब पाँच करोड रुपैयाँ बराबरको कोष संकलन गरी ८०–१०० जनासम्म बस्न मिल्ने धर्मशाला, शिवलिङ्ग कुण्ड र होम कुण्ड निर्माणको योजना बनाइएको आयाेजकले बताएको छ ।
पण्डित श्री कपिलदेव भट्टकाे कथावाचनमा हुने महायज्ञमा भजन, नाटक, सांस्कृतिक कार्यक्रम र भक्तिमय वातावरण रहने जनाइएको छ ।

जलेश्वर महादेव मन्दिर तनहुँकै आस्थाको केन्द्र मात्र होइन, अब यसलाई धार्मिक पर्यटनको नयाँ गन्तव्य बनाउन स्थानीय टोलबासी एकजुट भएका छन् । स्व. कृष्णबहादुर बस्नेत, लिलामाया बस्नेतले ६ आना र केदारलाल श्रेष्ठले १ आना मन्दिर निर्माणका लागि भूमि दान गरिसकेका छन् ।
रतौली टोल विकास संस्थाकाे मुख्य आयाेजना तथा सृजना आमा समूह र जलेश्वर मन्दिर संरक्षण समिति सहआयाेजक रहने गरि व्यास नगरपालिका–१ वडा कार्यालय संरक्षक काे रूपमा महायज्ञ सञ्चालन हुनेछ ।


























