बन्दीपुरमा पर्यटकको चहलपहल

बन्दीपुरमा पर्यटकको चहलपहल


जेन–जी आन्दोलन पछि केही समय सुस्ताएको बन्दीपुरकाे पर्यटन पछिल्लो समय ह्वात्तै बढेको छ । खासगरी बिदाका दिनमा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।विभिन्न विद्यालय, संघ–संस्थाहरुको शैक्षिक भ्रमण र पारिवारिक घुमफिरले अहिले बन्दीपुरका हाेटलहरू पर्यटकहरूले खचाखच भरिएका छन् । यसले यहाँका हाेटल व्यवसायीहरू खुसी सँगै उत्साहित भएका छन् । बन्दीपुरका हाेटल व्यवसायी सुजन श्रेष्ठले पछिल्लो समय बन्दीपुरमा पर्यटकको संख्यामा वृद्धि भएको र हाेटलहरू पनि भरिभराउ भएको बताए । अहिले पर्यटकको घुम्ने सिजन पनि भएको हुँदा बिदाको दिनमा त पर्यटकहरू लाई थेग्नै हम्मेहम्मे पर्ने गरेको यहाँका व्यवसायीहरू बताउँछन् । कन्दीपुरमा ‘दैनिक ५ सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेकाे बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । यसमा ‘अग्रिम बुकिङ गरी बाह्य पर्यटकहरु पनि आउने गर्दछन् । बिदाका दिनहरुमा बन्दीपुर बजार आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्छ प्रधानले भने ।’’यस्तै, बन्दीपुर घुम्न आउने पर्यटकहरुका लागि व्यवसायीहरुले विभिन्न जातजातिका संस्कार संस्कृति झल्कने पोसाक राखेका उनले बताए । ‘विभिन्न जातजातिका पोसाक लगाएर युवायुवतीहरु बजार लगायतका आसपासका क्षेत्रहरूमा तस्बिर तथा भिडियो बनाउने गर्छन्’ ‘यसले पनि पर्यटकलाई थप आकर्षण गरेको पाएका छौं ।’ चितवनबाट बन्दीपुर घुम्न आएकी दिपा थापा मगरले बन्दीपुर साच्चिकै स्वर्गकाे आनन्द दिने ठाउँ रहेछ भन्दै खुसी व्यक्त गरिन् । यहाँको बाेलिचाली , बाताबरण अत्यन्तै राम्रो लागेको उनको भनाइ छ । यस्तै काठमाडौं बाट घुम्न आएका प्रदिप जंगले बन्दीपुर साच्चिकै फरक र आकर्षक लागेको बताए । बन्दीपुर आउने हरेक पर्यटकहरू बन्दीपुरमा लाेभिने गरेको पर्यटकहरू बताउँछन् ।

पछिल्ला वर्षहरूमा बन्दीपुर आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइमा परेको तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका अध्यक्ष धनश्याम उपाध्यायले बताए । ‘सफा र सुन्दर वातावरण, पुरानो नेवारी बस्ती र नजिकको गन्तव्य भएकाले बन्दीपुर पर्यटकको रोजाइमा पर्ने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।’बन्दीपुरमा पर्यटन आकर्षणका लागि थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजनालाई अगाडि बढाइएको छ पर्यटन व्यवसायीका अनुसार बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स र जर्मनीबाट विदेशी पर्यटक बड़ी संख्यामा आउने गरेका छन्। यहाँको सुहाउदाे हावापानी, परम्परागत नेवारी शैलीका पुराना घर, सांस्कृतिक रीतिरिवाज र शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ।

बन्दीपुरमा ७७ वटा साना–ठूला होटल सञ्चालनमा छन्, जसले पर्यटकलाई आवश्यक सबै सेवा सुविधा प्रदान गर्दै आएका छन्। ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायतका होटलले बन्दीपुरको आतिथ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। यस्तै, भक्तपुर शैलीमा निर्मित पुराना घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनाखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर तथा पर्यटन सूचना केन्द्र यहाँका प्रमुख आकर्षण स्थल हुन् ।

बन्दीपुरको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजार विस्तार र सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान गर्ने उद्धेश्यले पर्यटकीय क्षेत्र बन्दीपुरमा आगामी मंसिर १० गतेदेखि २१ गतेसम्म छैठौं बन्दीपुर महोत्सव समेत हुने भएको छ ।पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट करिब ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी लगायतका हिमश्रृंखला देख्न सकिन्छ । कोलाहलमुक्त शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि उकृष्ट गन्तव्यका रुपमा बन्दीपुर परिचित छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page