राजमार्गमा दुर्घटना बढेपछि तनहुँमा ट्राफिक सचेतना तथा तिव्र गति चेकिङमा कडाइ

राजमार्गमा पछिल्लो समय सवारी दुर्घटनाको संख्या उल्लेख्य रूपमा बढ्दै गएपछि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम तथा तिव्र गति चेकिङलाई कडा बनाएको छ। विशेषगरी लामो दूरीका सवारीसाधन र तीव्र गतिमा चल्ने सवारीलाई लक्षित गर्दै निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ओभरस्पिड, मापदण्डविपरीत ओभरटेक, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने लगायतका कारणले दुर्घटना बढेको भन्दै प्रहरीले ट्राफिक सचेतना सँगै चेकिङलाइ तिव्र पारेको हाे । त्यसलाई नियन्त्रण गर्न विभिन्न स्थानमा स्पिड गनमार्फत गति मापन, सवारी जाँच तथा चालकलाई सचेतनामूलक सुझाव प्रदान गर्ने कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।

सचेतना कार्यक्रमअन्तर्गत चालक तथा सहचालकलाई सुरक्षित यात्रासम्बन्धी जानकारी दिइनुका साथै सवारी साधनको अवस्था पनि जाँच गरिँदै आएको छ। नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि जरिवाना तथा आवश्यक कारबाहीसमेत गरिएको ट्राफिक प्रहरीको भनाइ छ।
ट्राफिक प्रहरीले सवारी चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, तोकिएको गति सीमा भित्र सवारी चलाउन र यात्राको क्रममा सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। यसबाट दुर्घटनामा कमी आउने र यात्रुहरूको सुरक्षामा सहयोग पुग्ने विश्वास गरिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँकाे संयुक्तरूपमा भएको उक्त अभियान जिल्लाका आवुखैरेनी , डुम्रे , भानु , बन्दीपुर ,बेलचाैतारा , दमाैली , काेत्रे लगायतका स्थानमा एकैपटक सुरुवात गरिएकाे छ ।

























