बन्दीपुरमा पाचौँ नारायण गोपाल कप भलिबल तथा गोरु जुधाइ प्रतियोगिता हुने

बन्दीपुरमा पाचौँ नारायण गोपाल कप भलिबल तथा गोरु जुधाइ प्रतियोगिता हुने


तनहुँकाे बन्दीपुर गाउँपालिका वडा नं २ कुकुर्दिमा पाचौँ नारायण गोपाल कप शुद्ध गाउँस्तरीय भलिबल प्रतियोगिता तथा परम्परागत गोरु जुधाइ प्रतियोगिता हुने भएको छ। माघे संक्रान्तिकाे अवसरमा आयाेजना हुने प्रतियोगितामा भलिबल र गाेरू जुधाइ सँगै महिलाहरू बिच डाेरि तान्ने प्रतियोगिता , छेलाे प्रतियोगिता , घैंटाे फुटाइ प्रतियोगिता हुने बताइएको छ । गाेरू जुधाइ प्रतियोगितामा प्रथम हुनेलाई २० हजार तथा द्धितीय हुनेलाइ १० हजार पुरस्कार राशि राखिएको छ । यस्तै भलिबल प्रतियोगिता पुस २५ गतेदेखि माघ १ गतेसम्म हुने र प्रथम , द्धितीय तथा तृतीय हुने टिमलाई क्रमश ५० , ३० र २० हजार नगदका साथै ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

खेलकुद र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका युवा सुरज अधिकारीले बताए ।
कार्यक्रमअन्तर्गत गाउँस्तरका विभिन्न टिमहरूबीच भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ भने परम्परागत रूपमा हुँदै आएको गोरु जुधाइ प्रतियोगिताले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागी टिम तथा खेलाडीलाई उचित पुरस्कार तथा सम्मानको व्यवस्था गरिएको अधिकारीले जानकारी दिए ।
स्थानीय युवाहरूको सक्रिय सहभागिता रहने यस प्रतियोगिताले गाउँमा आपसी सद्भाव बढाउने र खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page