म्याग्देमा मङ्गलबारदेखि सातै वडामा व्यवसाय दर्ता तथा सूचीकृत अभियान सञ्चालन हुँदै

म्याग्देमा मङ्गलबारदेखि सातै वडामा व्यवसाय दर्ता तथा सूचीकृत अभियान सञ्चालन हुँदै


म्याग्दे, ७ तनहुँ ।(फाइल फाेटाे)
म्याग्दे गाउँपालिकाको आयोजना तथा म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा गाउँपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित व्यवसाय दर्ता तथा सूचीकृत अभियान मङ्गलबारदेखि सञ्चालन हुने भएको छ।
गाउँपालिकाभित्र व्यापार–व्यवसाय सञ्चालन गरिरहेका तर हालसम्म दर्ता वा सूचीकृत नभएका व्यवसायीलाई लक्षित गरी यो अभियान सञ्चालन गर्न लागिएको हो। अभियान गाउँपालिकाको वडा नं. ३ स्थित धयेरे बजारबाट सुरु भई पुस महिनाको अन्तिम सातासम्म सञ्चालन हुनेछ।
आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेका अनुसार पटक–पटक सूचना जारी गर्दा पनि दर्ता तथा सूचीकृत हुन नआएपछि अभियानकै रूपमा यो कार्य अघि बढाइएको हो। अभियानअन्तर्गत होटल, किराना पसल, कृषि व्यवसाय, मासु पसल, स्टेशनरी, परामर्श सेवा, ब्यूटी पार्लर, सप्लायर्स लगायतका व्यवसाय दर्ता तथा सूचीकृत गरिनेछ।
व्यवसायीको सहजताका लागि सो अवधिमा फोटोकपी लगायतका आवश्यक सेवाहरू निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको न्यौपानेले जानकारी दिए।
म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीले गाउँपालिकाले व्यवसायीको हितमा काम गर्दै कानुनी दायरामा ल्याउन खोजेकाले संघ सहयात्री बनेको बताए। “स्थानीय सरकारसँग उद्योगी–व्यवसायीको प्रत्यक्ष सम्बन्ध हुने भएकाले दर्ता तथा सूचीकृत अभियानमा सहकार्य गरेका हौँ,” उनले भने। अभियान सफल बनाउन संघका पदाधिकारी तथा सदस्यहरू सक्रिय रूपमा लाग्ने पनि उनले बताए।
व्यवसायीलाई सहज होस् भन्ने उद्देश्यले वडामै पुगेर दर्ता तथा सूचीकृत अभियान सञ्चालन गरिएको हो।
मङ्गलबार सञ्चालन हुने अभियानको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी र वडा नं. ३ का अध्यक्ष टुकराज अधिकारीले गर्ने कार्यक्रम रहेको छ।


गाउँपालिकाभित्रका उद्योगी तथा व्यवसायीले आफ्नै घर–टोलबाट सेवा पाउने भएपछि उत्साहका साथ अभियानमा सहभागी भई कानुनी प्रक्रियामा आउने विश्वास लिइएको छ। जनप्रतिनिधि, कर्मचारी र व्यवसायी एकैसाथ अभियानमा जुट्दा स्थानीय व्यवसायीहरू खुसी भएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page