पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान,साहित्यमा टुकादेवी, पत्रकारितामा हरि र समाजसेवामा लालप्रसाद सम्मानित

पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान,साहित्यमा टुकादेवी, पत्रकारितामा हरि र समाजसेवामा लालप्रसाद सम्मानित



तनहुँ मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालीन अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापना गरिएको पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८२ सोमबार प्रदान गरिएको छ।
चौथो संस्करणको उक्त सम्मानअन्तर्गत साहित्यतर्फ टुकादेवी पौडेल आचार्य, पत्रकारितातर्फ हरि खरेल र समाजसेवातर्फ लालप्रसाद गर्तौला सम्मानित भएका छन्।
शुक्लागण्डकी–२, स्थान्थोकमा रेडियोको दशौँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक ‘राजु’, वडा नं. २ का अध्यक्ष सुमनबहादुर राना मगर, रेडियोका अध्यक्ष शिव पौडेल, संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठलगायतले सम्मान प्रदान गरे।
साहित्य र पत्रकारितातर्फ सम्मानित व्यक्तिहरूले जनही १०–१० हजार रुपैयाँ नगद, प्रमाणपत्र प्राप्त गरे भने समाजसेवातर्फ ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। तनहुँ जिल्लामा साहित्य, खोज पत्रकारिता र शुक्लागण्डकी नगर क्षेत्रभित्र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूबाट छनोट गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा उपप्रमुख विकले रेडियोलाई समयअनुसार प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए। वडा अध्यक्ष रानाले रेडियोले पर्यटकीय क्षेत्रमा कार्यक्रम आयोजना गर्दा स्थानीय प्रचार–प्रसारमा टेवा पुगेको बताए।
सम्मानित साहित्यकार आचार्यले प्राप्त सम्मानले आफूलाई अझ सक्रिय रूपमा लेखनमा लाग्न प्रेरणा मिलेको बताइन्। पत्रकार खरेलले पत्रकारितामा चुनौती धेरै भए पनि सानैदेखि हौसला दिने सबैप्रति आभार व्यक्त गरे।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट स्रोता भिमाद–९ पाथर्दी निवासी तारा थापा, उत्कृष्ट कर्मचारी तर्फ नेवार भाषा कार्यक्रम प्रस्तोता ज्ञाननारायण श्रेष्ठ र कुमाल भाषा कार्यक्रम प्रस्तोता मार्टिना कुमाल सम्मानित भए।
उत्कृष्ट विज्ञापनदाता तर्फ जय शिव सुनचाँदी पसलका शिवबहादुर विक, बरेली टेलर्सका प्रेम परियार, जय शिव इलेक्ट्रोनिक्सका शिवबहादुर श्रेष्ठ र पूर्ण कपडा पसलका पूर्णबहादुर आले सम्मानित भएका छन्।
रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेयरधनी सदस्य ठानप्रकाश न्यौपाने, विज्ञापनदाता पूर्णबहादुर आलेलगायतले मन्तव्य राखेका थिए। उपाध्यक्ष आनन्दसुन्दर श्रेष्ठले स्वागत, सचिव टिकाराम श्रेष्ठले सञ्चालन र कार्यक्रम संयोजक राजेन्द्र पौडेलले धन्यवाद ज्ञापन गरेका थिए।
सम्मानित व्यक्तित्व परिचय
टुकादेवी पौडेल आचार्य शिक्षण पेशासँगै साहित्यमा सक्रिय रहँदै आएकी छन्। २०५४ सालमा जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भएकी उनले २०७८ सालमा ‘बार्दली’ लघुकथा सङ्ग्रह प्रकाशित गरेकी छन्। हाल शुक्ला साहित्य संगम तनहुँको नेतृत्वमा रहेकी आचार्य पोखरा–३३ स्थायी ठेगाना भई हाल शुक्लागण्डकी–३ कवासेमा बसोबास गर्दै आएकी छन्।
हरि खरेल शुक्लागण्डकी क्षेत्रमा क्रियाशील पत्रकार हुन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ मा जन्मिएका खरेल हाल शुक्लागण्डकी–२, हलेदीमा बस्दै आएका छन्। २०७६ सालमा तनहुँ खबर राष्ट्रिय दैनिकबाट पत्रकारिता यात्रा सुरु गरेका उनी हाल शुक्ला न्यूज अनलाइन का सम्पादक हुन्।
लालप्रसाद गर्तौला ८३ वर्षको उमेरमा पनि समाजसेवामा सक्रिय छन्। २०३० सालमा वडा अध्यक्ष र २०३४–२०३९ सम्म खैरेनी गाउँपञ्चायत अध्यक्षको जिम्मेवारी निर्वाह गरेका उनले सहिद कृष्ण मावि तथा शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम स्थापना गरेका थिए।


अक्षयकोषबाट वार्षिक सम्मान
रेडियोका शेयरधनी, शुभेच्छुक तथा पूर्णकुमार श्रेष्ठको परिवारको सहयोगमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। सोही कोषको ब्याजबाट प्रत्येक वर्ष तीन विधामा पुरस्कार प्रदान गरिँदै आएको स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिए।
शुक्लागण्डकी एफ.एम. स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णकुमार श्रेष्ठको २०७८ जेठ १२ गते ४८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page