म्याग्देमा घरदैलोमै व्यवसाय दर्ता तथा सूचीकृत अभियान

म्याग्देमा घरदैलोमै व्यवसाय दर्ता तथा सूचीकृत अभियान


बुधबार ५५ व्यवसाय दर्ता तथा नविकरण
म्याग्दे, ९ तनहुँ।
जनताको सुविधा लक्षित गर्दै म्याग्दे गाउँपालिकाले व्यवसाय दर्ता, नविकरण तथा सूचीकृत सेवा घरदैलोमै प्रदान गरेको छ। म्याग्दे गाउँपालिकाको आयोजना तथा म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको अभियान अन्तर्गत बुधबार वडा नम्बर ६ मा सेवा दिइएको हो।
उक्त दिन मात्रै ५५ जनाले व्यवसाय दर्ता, नविकरण तथा सूचीकृत गरेका छन्। वडा नम्बर ६ का अध्यक्ष हिरालाल गुरुङले अभियानबाट नागरिकहरू खुसी भएको बताउँदै दर्ता भएका व्यवसायीलाई प्रमाणपत्र प्रदान गर्नुभयो। उहाँले व्यवसायमा निरन्तरता दिँदै गाउँपालिकाको दिगो विकासमा योगदान गर्न आग्रह गर्नुभयो।
गाउँपालिका भित्र सञ्चालनमा रहेका व्यापार–व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियानकै रूपमा दर्ता तथा सूचीकृत कार्यक्रम सञ्चालन गरिएको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो। पटक–पटक सूचना दिँदा पनि दर्ता वा सूचीकृत हुन नआएपछि अभियानकै रूपमा कार्यक्रम अगाडि बढाइएको उहाँको भनाइ छ।
म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीले व्यवसायीको हितका लागि गाउँपालिकासँग सहकार्य गर्दै दर्ता तथा नविकरण अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले अभियान सफल बनाउन संघका पदाधिकारी तथा सदस्यहरू सक्रिय रूपमा लागेको जानकारी दिनुभयो।


वडामा होटल, किराना, कृषि, मासु पसल, स्टेशनरी, परामर्श सेवा, ब्युटी पार्लर, सप्लायर्स लगायतका व्यवसायहरू दर्ता तथा सूचीकृत गरिएको न्यौपानेले जानकारी दिनुभयो। व्यवसायीको सहजताका लागि फोटो कपी लगायतका आवश्यक सेवा निःशुल्क उपलब्ध गराइएको उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र अधिकारीले बताउनुभयो।
यसअघि मङ्गलबार वडा नम्बर ३ मा सञ्चालन भएको अभियानको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले गर्नुभएको थियो।
आफ्नै घर–टोलमै सेवा पाएपछि उद्योगी तथा व्यवसायीहरू उत्साहपूर्वक सहभागी भई कानुनी प्रक्रिया सम्बन्धी जानकारी लिएको म्याग्दे उद्योग वाणिज्य संघका महासचिव राजीव श्रेष्ठले जानकारी दिनुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page