तनहुँ कांग्रेस सभापतिका ‘हेवीवेट’ वडामै हार्ने डरले चुपचाप , चर्चामा काे काे ?
नेपाली कांग्रेस तनहुँको महाधिवेशन नजिकिँदै छ, तर पार्टीको नेतृत्व दाबी गर्ने भनिएका नेताहरू खुल्न सकेका छैनन् । सभापतिका लागि नाम चलाइएका अधिकांश नेताहरू आजसम्म सार्वजनिक रूपमा मैदानमा उत्रिन सकेका छैनन्। कारण स्पष्ट छ—आफ्नै वडामा पराजयको त्रास।
यो केवल रणनीतिक मौनता होइन, यो संगठनमाथिको कमजोर पकडको नाङ्गो स्वीकारोक्ति पनि भएको काङ्ग्रेस वृत्तमा चर्चा छ ।
कांग्रेसको विधानले स्पष्ट भन्छ—नेतृत्वको यात्रा वडाबाट सुरु हुन्छ। तर तनहुँमा यतिबेला अचम्मको दृश्य देखिएको छ। मञ्चमा भाषण गर्ने, केन्द्रमा फोटो खिचाउने र गुटको नाममा शक्ति देखाउने नेताहरू आफ्नै वडामा कार्यकर्ताको भरोसा जित्न नसक्ने अवस्थामा छन्।
प्रश्न उठ्छ—जसलाई आफ्नै वडाले पत्याउँदैन, उसले जिल्लालाई के दिन सक्छ ?
तनहुँ कांग्रेसमा अहिले नेतृत्वभन्दा गुट बलियो देखिन्छ। नेताहरू विचार र संगठनका आधारमा होइन, “कुन गुटले जित्छ” भन्ने अनुमानमा राजनीतिमा होमिएका छन्। केन्द्र र प्रदेशको छायाँमा जिल्लाको राजनीति चलाउँदा उनीहरू आफ्नै धरातल बिर्सिएका छन्।गुट बदल्ने, अन्तिम क्षणसम्म मौन बस्ने, जित्ने पक्षतिर हाम फाल्ने—यही प्रवृत्तिले कांग्रेसलाई विगत देखि जेल्दै आएकाे छ र यस्तै कारणले जनताबाट टाढा बनाएको यथार्थता देखिन्छ ।

काङ्ग्रेस तनहुँ पार्टी सभापतिमा खासगरी अहिलेसम्म जितप्रकाश आले , राजेन्द्र कृष्ण श्रेष्ठ , किसान गुरूङ , चुडामणी खनाल , प्राडा कृष्ण प्रसाद गाैतम , बालकृष्ण घिमिरे क्षेत्र नं २ बाट चर्चामा रहेको पाइन्छ भने वारि अर्थात क्षेत्र नं १ वाट बैकुण्ठ न्याैपाने , देवकुमार श्रेष्ठ , लक्ष्मी आचार्य , श्याम माैरती ,लक्ष्मीभक्त खनाल लगायतको नाम चर्चामा पाइन्छ । यस्तै जिल्ला सचिवमा माेहन गिरी , डम्बरबहादुर अधिकारी , मिलन आले , हुत्तमणी अधिकारी , दयानिधी नराल लगायतको चर्चा रहेको पाइन्छ । यस्तै क्षेत्र नं १ क्षेत्रिय सभापतिमा शान्ति रमण वाग्ले , काजीमान श्रेष्ठ , कर्ण खत्री , बिशेश्वर खनाल , सुर्यचन्द्र हड्खले ,तुलसीराम सापकोटा , खरसिंह दरै लगायतको चर्चा रहँदा क्षेत्र नं २ क्षेत्रिय सभापतिमा कृष्णराज पण्डित , सन्तोष घिमिरे , जितराज राना , इन्द्रबहादुर थापा , मिलन आले लगायतको चर्चा छ ।

यस्तै व्यास नगर सभापतिमा तुलसीराम सापकोटा , जीवन गुरूङ , खेमराज पाेख्रेल लगायतको चर्चा रहेको छ । यद्यपि याे बाहेकका व्यक्तिहरू पनि थपघट हुनसक्ने सम्भावना पनि उत्तिकै देखिन्छ । तर यी सबै पात्रहरू निर्धक्कका साथ खुल्न भने सकेको देखिँदैन ।


























