छपेली कप फुटबलको उपाधि लगातार चौथोपटक सिद्ध गुफालाई

छपेली कप फुटबलको उपाधि लगातार चौथोपटक सिद्ध गुफालाई


बन्दिपुर, माघ १ (विहिबार)
“सामाजिक अन्तरसम्बन्धका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजित छपेली कप–२०८२ खुल्ला ७ ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि बन्दिपुर गाउँपालिका–४, बिमलनगरस्थित सिद्ध गुफा फुटबल क्लबले हात पारेको छ।
विहिबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा सिद्ध गुफाले आयोजक छपेली युवा क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै लगातार चौथोपटक च्याम्पियन बन्न सफल भएको खेल संयोजक मदन थापा ‘माधु’ले जानकारी दिनुभयो।
खेलको पहिलो हाफमा सिद्ध गुफाले ३–० को बलियो अग्रता लिएको थियो भने दोस्रो हाफमा आयोजक टोलीले दुई गोल फर्काउन सफल भए पनि खेल जित्न सकेन।
प्रतियोगिताको विजेता सिद्ध गुफाले रु. १ लाख ३३ हजार १३३ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको छपेली युवा क्लबले रु. ६६ हजार १६६ नगद पुरस्कार हात पारेको क्लबका पूर्व अध्यक्ष तथा बन्दिपुर–१ का वडा सदस्य विजय रानाले बताउनुभयो।


क्लबका अध्यक्ष अमर शाहीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।
पौष २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page