२३ औँ स्वर्गीय रोट्रयाक्ट सचिन स्मृति खुला दौड प्रतियोगिता सम्पन्न
दमौली । २३ औँ स्वर्गीय रोट्रयाक्ट सचिन स्मृति खुला दौड प्रतियोगिता दमौलीमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता व्यास नगरपालिका–३ स्थित अनसन चौताराबाट सुरु भई व्यास नगरपालिका–१४ छाब्दीस्थित बाराही मन्दिरमा पुगेर समापन गरिएको थियो।
प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने रहनुभएको थियो भने समापन कार्यक्रम व्यास नगरपालिका शिक्षा तथा खेलकुद संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष जीवन गुरुङले गर्नुभएको थियो।
प्रतियोगितामा पुरुषतर्फ म्यानमार सिन्की तामाङ प्रथम, कृष्णबहादुर परियार दोस्रो र सनम गुरुङ तेस्रो हुनुभयो। महिलातर्फ उमादेवी गुरुङ प्रथम हुनुभयो भने बालधावकतर्फ सौरभ अर्याल विजेता बन्न सफल हुनुभयो।
समयका आधारमा पुरुषतर्फ प्रथम स्थान हासिल गर्ने धावकले २७ मिनेट ५७ सेकेन्ड, दोस्रोले ३० मिनेट १३ सेकेन्ड र तेस्रोले ३१ मिनेट १४ सेकेन्डमा दौड पूरा गरेका थिए। महिलातर्फ विजेताले ४८ मिनेट १४ सेकेन्डमा दौड सम्पन्न गर्नुभयो भने बालधावकतर्फ विजेताले १ घण्टा २७ मिनेटमा निर्धारित दूरी पूरा गर्न सफल हुनुभयो।
विजेताहरूलाई नगद पुरस्कार स्वरूप प्रथमलाई १५ हजार ५ सय रुपैयाँ, दोस्रोलाई १२ हजार ५ सय रुपैयाँ र तेस्रोलाई ८ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो। महिलाधावक र बालधावक विजेतालाई जनही १ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो। साथै सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट पाँच जनालाई मेडल वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम रोट्रयाक्ट क्लब दमौलीको आयोजनामा सम्पन्न भएको हो। क्लबका अध्यक्ष गोविन्द तिमल्सेनाको अध्यक्षतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।


























