राधा माविको ४५ औँ वार्षिकोत्सवमा पत्रकार खनाल र वाग्ले सम्मानित

राधा माध्यमिक विद्यालय, जामुनेको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका गतिविधि, शैक्षिक अभियान तथा सामाजिक योगदानलाई निरन्तर समाचारमार्फत उजागर गर्दै विद्यालयलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार द्वय तनहुँ प्रेसका कार्यकारी सम्पादक विकास खनाल र प्रादेशिक खबर दैनिकका सम्पादक मदन वाग्लेलाई विशेष सम्मान गरिएको छ।
दुवै पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप रानाभाट, प्रधानाध्यापक अशोक चन्द्र वाग्ले लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको हो।

शिक्षा, सूचना र समाजबीचको सेतुका रूपमा पत्रकारितामार्फत खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै विद्यालयले सम्मान गरेको जनाएको छ।
सम्मानित पत्रकार विकास खनालले सञ्चालन गर्दै आउनुभएको तनहुँ प्रेस अनलाइनले स्थानीय शिक्षा, विकास र सामाजिक गतिविधिलाई प्राथमिकताका साथ निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ। यसअघि पनि खनाल र वाग्ले पत्रकारिता तथा सामाजिक योगदानको कदरस्वरूप विभिन्न संघ–संस्थाबाट थुप्रै सम्मान प्राप्त गरिसक्नुभएको छ।


























