नेपाल मगर संघ तनहुँको अध्यक्षमा हर्क थापा निर्वाचित
तनहुँ । नेपाल मगर संघ तनहुँको १६औँ जिल्ला अधिवेशनबाट हर्क थापा (एचबी) अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि हर्क थापा र रिमा आलेबीच कडा प्रतिस्पर्धा भएको थियो।
यसअघि अध्यक्ष पदका लागि हालकी वरिष्ठ उपाध्यक्ष मिना थापा, द्वितीय उपाध्यक्ष हर्क थापा, व्यास नगरका निवर्तमान अध्यक्ष रिमा आले तथा पूर्णबहादुर थापाले उम्मेदवारी दिएका थिए। तर अन्तिम चरणमा हर्क थापा र रिमा आलेबीच मात्र प्रतिस्पर्धा कायम भएको थियो।
निर्वाचनअन्तर्गत राति मतदान सम्पन्न भई बिहान मतगणना सकिएको हो। सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियामा जानुपरेको निर्वाचन समितिले जनाएको छ।
नेपाल मगर संघ तनहुँमा यसअघि २०६४ सालमा सम्पन्न १३औँ जिल्ला अधिवेशनमा मात्र मतदान भएको थियो। उक्त अधिवेशनमा यमबहादुर सारू र सिद्धान्त थापाबीच प्रतिस्पर्धा भएको थियो। त्यसयता सम्पन्न सबै अधिवेशनहरू सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदै आएका थिए।
अध्यक्ष पदका उम्मेदवार हर्क थापा नेपाल कम्युनिस्ट पार्टी निकट मानिन्छन् भने रिमा आले नेपाली कांग्रेस निकट रहेको बताइन्छ।

मतदानमा जिल्ला कार्यसमितिका ४१ जना, १० वटा पालिकाबाट ३० जना तथा भातृ संस्था—मगर विद्यार्थी संघ, मगर महिला संघ, मगर लेखक संघ, युवा संघ, सांस्कृतिक संघ र मगर भूपू संघबाट एक–एक जना गरी कुल ७७ जना मतदाता सहभागी थिए।


























