देवघाटमा शतचण्डी महायज्ञ तथा माघ महोत्सव आयोजना हुने

देवघाटमा शतचण्डी महायज्ञ तथा माघ महोत्सव आयोजना हुने


देवघाट (तनहुँ), माघ १६ । त्रिशुली र कालीगण्डकीको संगमस्थल पवित्र देवघाटधाममा शतचण्डी महायज्ञ तथा देवघाट माघ महोत्सव आयोजना हुने भएको छ। देवघाट–५ तनहुँ टाउन चोकस्थित श्री दुर्गा पाञ्चायन (श्रीराम) मन्दिरको आयोजनामा माघ १९ गतेदेखि २९ गतेसम्म महायज्ञ तथा महोत्सव सञ्चालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
आयोजकका अनुसार महायज्ञमा सहभागी भक्तजन, साधुसन्त तथा आगन्तुकहरूका लागि निःशुल्क आवास र भोजनको व्यवस्था गरिएको छ। धार्मिक आस्था र सनातन संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले देवघाटको धार्मिक तथा सांस्कृतिक पहिचान थप सुदृढ बनाउने विश्वास लिइएको छ।
महायज्ञको मुख्य उद्देश्य मन्दिरको पुनर्निर्माण, देवघाटमा लामो समयदेखि निरन्तर जल्दै आएको अखण्ड धुनी र दीपको संरक्षण तथा निरन्तरता कायम गर्नु रहेको महायज्ञका संकल्पकर्ता आचार्य श्री शीतल कृष्णजी महाराजले बताउनुभयो। उहाँले देवघाटको धार्मिक गरिमा र ऐतिहासिक महत्व भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता महायज्ञ आवश्यक रहेको उल्लेख गर्नुभयो।
महायज्ञ अवधिभर चण्डी पाठ, हवन, पूजाआजा, प्रवचन, भजन–कीर्तन तथा धार्मिक सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने महायज्ञ तथा महोत्सव संयोजक गोपीचन्द भुसालले जानकारी दिनुभयो। माघ महोत्सवअन्तर्गत धार्मिक चर्चा, साधुसन्तको सत्सङ्ग तथा भक्तजनबीच सद्भाव र आध्यात्मिक चेतनाको विस्तार गरिने उहाँले बताउनुभयो।


कार्यक्रम सफल बनाउन आयोजकले दाता, धर्मप्रेमी तथा श्रद्धालु भक्तजनहरूको सक्रिय सहभागिताको अपेक्षा गरेको छ। हरेक वर्ष माघ महिनामा ठूलो संख्यामा श्रद्धालुहरू देवघाट आउने भएकाले यस महायज्ञ तथा महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page