दमौलीमा २२ गतेदेखि पाँचदिने ‘श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ’ आयोजना
दमौली, तनहुँ — ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, दमौली शाखाले महाशिवरात्री पर्व–२०८२ को अवसरमा ‘श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ’ कार्यक्रम आयोजना गर्न लागेको छ।
माघ २२ देखि २६ गतेसम्म दमौली सभाहलमा आयोजना हुने महायज्ञमा गीताको महत्व र मानव जीवनमा यसको प्रभावबारे वैज्ञानिक तथा व्यावहारिक प्रवचन दिइने जनाइएको छ ।
कार्यक्रमका प्रवचक राजयोगिनी ब्रह्माकुमारी अमृत दिदी हुन्। उनी विगत ३० वर्षदेखि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा आबद्ध छन् र २५ वर्षदेखि देश–विदेशमा तनाव व्यवस्थापन, सकारात्मक चिन्तन र कर्मयोगका प्रशिक्षण दिँदै आएकी छन्।
महायज्ञका संयोजक ब्रह्माकुमार शिशिर रेग्मीले बताएअनुसार, वर्तमान समयमा व्यक्तिगत, पारिवारिक र व्यवसायिक जीवनका समस्याको समाधान गीताले दिन सक्छ। गीताका महावाक्यहरू वैज्ञानिक र व्यावहारिक भएको कारणले जीवनका हरेक पलसँग यसको सान्दर्भिकता जोडिएको छ।

सञ्चालिका ब्रह्माकुमारी यमुनाले यस कार्यक्रम निःशुल्क, निश्वार्थ र निष्काम रूपमा सञ्चालन गरिने र आसपासका क्षेत्रका नागरिकलाई ज्ञान–योगले सिञ्चित गराउने उद्देश्य रहेको जानकारी दिइन्।


























