नेपाल शिक्षक संघ तनहुँको २७औँ जिल्ला प्रतिनिधि सभा भव्य रूपमा सम्पन्न

नेपाल शिक्षक संघ तनहुँको २७औँ जिल्ला प्रतिनिधि सभा भव्य रूपमा सम्पन्न

दमौली, तनहुँ ।
नेपाल शिक्षक संघ तनहुँको २७औँ जिल्ला प्रतिनिधि सभा माघ २४ गते व्यास नगरपालिका–दमौलीस्थित बी.पी. स्मृति भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबु भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति तथा पूर्व मन्त्री जीतप्रकाश आले रहनुभएको थियो। सभालाई सम्बोधन गर्दै उहाँले शिक्षकहरूको भूमिका राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै शिक्षकका हकहित तथा पेशागत सुरक्षाका लागि राज्य गम्भीर हुनुपर्ने बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा व्यास नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपाने, राष्ट्रिय सभा सदस्य जगत तिमिल्सिना, नेपाल शिक्षक संघका पूर्व राष्ट्रिय उपाध्यक्ष ब्रह्मदत्त तिमिल्सिना, पूर्व सभासद् रामचन्द्र पोख्रेल, पूर्व अध्यक्ष रमेशचन्द्र हड्खले, नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमितिका पूर्व उपमहासचिव विजय पौडेल, व्यास–१० का वडा अध्यक्ष खेमराज पोख्रेल, प्रदेश कार्यसमितिका उपाध्यक्ष अनिल श्रेष्ठ, उपमहासचिव कल्पना परियार, प्रवक्ता श्रीकृष्ण आचार्य, पूर्व कार्यवाहक अध्यक्ष रशमाया गुरुङ, पूर्व अध्यक्ष कमलभक्त पोख्रेल, नेपाल शिक्षक महासंघ तनहुँका निवर्तमान अध्यक्ष रामचन्द्र पोख्रेललगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

चारसय भन्दा बढी शिक्षक, अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष चन्द्रमणि कोइराला, पालिका अध्यक्षको तर्फबाट ऋषिराम लामिछाने, आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक भरत काफ्ले, प्रधानाध्यापकको तर्फबाट सत्यवती माध्यमिक विद्यालयका प्र.अ. इन्द्रप्रसाद पौडेल, संघीय प्रतिनिधि रोहिणी राज पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सचिवको संगठनात्मक प्रतिवेदन तथा अर्थ सचिवको आर्थिक प्रतिवेदनमाथि छलफल भई सर्वसम्मत रूपमा पारित गरिएको थियो।

सभामा तनहुँ जिल्लाअन्तर्गत प्रत्येक पालिकाबाट नेपाल शिक्षक संघका पालिका अध्यक्षको सिफारिसमा एसईईमा उत्कृष्ट विद्यार्थी तथा असल अभिभावकलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। साथै, नेपाल शिक्षक संघ तनहुँमा आवद्ध भई २०८१ फागुन १७ गतेदेखि हालसम्म निवृत्त भएका अग्रज शिक्षकहरू तथा नेपाल शिक्षक संघको सिफारिसमा नेपाल शिक्षक महासंघमा प्रतिनिधित्व गरेका निवर्तमान पदाधिकारी एवं सदस्यहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

त्यस्तै, नेपाल शिक्षक संघ तनहुँमा आवद्ध नवप्रवेशी शिक्षकहरूलाई डायरी र अबिर प्रदान गरी स्वागत तथा सम्मान गरिएको थियो।

सभाबाट नेपाल शिक्षक संघ तनहुँ जिल्ला भवन निर्माणका लागि आर्थिक संकलन गर्ने योजनाअनुसार दशैँवटै पालिकामा आर्थिक संकलन समिति गठन गर्ने निर्णय पारित गरिएको छ। सम्बन्धित पालिकाका नेपाल शिक्षक संघ पालिका अध्यक्षको संयोजकत्वमा सो पालिकामा आवद्ध प्रधानाध्यापक सदस्य रहने गरी समिति गठन गरिने निर्णय भएको हो।

सोही क्रममा भवन निर्माणार्थ नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमितिका पूर्व उपमहासचिव विजय पौडेलले रु. ११,१११ (अक्षरेपी: एघार हजार एक सय एघार) र पूर्व कार्यवाहक अध्यक्ष रशमाया गुरुङले रु. १८,५५५ (अक्षरेपी: अठार हजार पाँच सय पचपन्न) आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्दा सभाहल तालीले गुञ्जायमान भएको थियो।

कार्यक्रमको सञ्चालन संघका सचिव नरेन्द्रनाथ न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी मल्लले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममाथि प्रकाश पार्ने कार्य उपाध्यक्ष अशोकचन्द्र वाग्लेले गर्नुभएको थियो।

नेपाल शिक्षक संघ तनहुँले आयोजना गरेको उक्त प्रतिनिधि सभाले संगठन सुदृढीकरण, शिक्षक हकहित र गुणस्तरीय शिक्षाको पक्षमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page