बलु थापा–अमृत थापा जोडी भिमाद ब्याडमिन्टन प्रतियोगितामा प्रथम
भिमाद (तनहुँ) — भिमाद ब्याडमिन्टन संघको आयोजनामा सम्पन्न चौथो भिमाद ब्याडमिन्टन प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
जिल्ला स्तरीय ‘सी’ लेभलको प्रतियोगितामा जिल्लाभित्रका ३२ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा बलु थापा र अमृत थापाको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।
त्यसैगरी, सुरज राना र रामकृष्ण तिमल्सिनाको जोडी द्वितीय स्थानमा रहँदा धीरज क्षेत्री–सुशील भुजेल तथा मनिष श्रेष्ठ–सूर्य थापाको जोडी संयुक्त रूपमा तृतीय भएका छन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँ, द्वितीयले १५ हजार रुपैयाँ तथा तृतीय हुने दुई टिमले जनही ७ हजार रुपैयाँ नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

विजेता खेलाडीहरूलाई भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, वडा नम्बर ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशी, नेपाली कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठ, भीम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल गोपालप्रसाद पराजुली, क्लबका उपाध्यक्ष केशव राज सुवेदी तथा खेल संयोजक हेमबहादुर थापा लगायतले संयुक्त रूपमा पुरस्कार वितरण गर्नुभएको थियो।


























