ठूला सपना बाँडेर जनतालाई झुक्याउने राजनीति गर्दिनँ : राप्रपा उम्मेदवार जोशी

ठूला सपना बाँडेर जनतालाई झुक्याउने राजनीति गर्दिनँ : राप्रपा उम्मेदवार जोशी


दमौली, माघ २६ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामदत्त जोशी (अभिषेक) ले ठूला सपना देखाएर जनतालाई भ्रममा पार्ने राजनीति आफूले नगर्ने स्पष्ट पारेका छन्। सोमबार दमौलीमा राप्रपा तनहुँद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यथार्थ, मूल्य र राष्ट्रिय पहिचानमा आधारित राजनीतिमा आफू प्रतिबद्ध रहेको बताए।
पत्रकार सम्मेलनमा जोशीले संवैधानिक राजसंस्था पुनःस्थापना र नेपाललाई हिन्दू अधिराज्यका रूपमा पुनःस्थापित गर्नु नै राप्रपाको मुख्य राजनीतिक एजेन्डा भएको उल्लेख गरे। वर्तमान राजनीतिक व्यवस्थाले देशलाई स्थायित्व, सुशासन र राष्ट्रिय पहिचान दिन नसकेको आरोप लगाउँदै उनले राजसंस्थासहितको प्रजातन्त्र नै नेपालका लागि उपयुक्त विकल्प भएको दाबी गरे।
नेपाल हजारौँ वर्षदेखि सनातन हिन्दू सभ्यता, संस्कार र परम्परामा आधारित राष्ट्र भएको उल्लेख गर्दै जोशीले धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण नगरे देशको मौलिक अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिए। हिन्दू अधिराज्यको अवधारणा कुनै समुदायविरुद्ध नभई सबै धर्म, संस्कृति र सभ्यताको सम्मान र संरक्षणका लागि साझा आधार भएको उनको भनाइ थियो।
यसै सन्दर्भमा उनले तनहुँ जिल्ला वेदव्यासको जन्मभूमि, देवघाट तथा छाब्दीबाराही मन्दिरलगायत महत्वपूर्ण धार्मिक तीर्थस्थलहरूको केन्द्र भएकाले ‘देवभूमि तनहुँ’ लाई विश्वभरि चिनाउने आफ्नो लक्ष्य रहेको बताए। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनको प्रवर्द्धनमार्फत जिल्लाको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गरिने उनले बताए।


पत्रकार सम्मेलनअघि जोशीले चुनावी अभियानअन्तर्गत छाब्दीबाराही मन्दिर पुगेर दर्शन गर्नुका साथै पुजारीबाट आशीर्वाद ग्रहण गरेका थिए। सो क्रममा उनले मन्दिरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वबारे जानकारी लिँदै स्थानीय बासिन्दासँग संवाद गरेका थिए। स्थानीयले उठाएका राजसंस्था र हिन्दू अधिराज्यसम्बन्धी जिज्ञासामा जवाफ दिँदै जोशीले राप्रपाको राजनीतिक दृष्टिकोण स्पष्ट पारेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page