म्याग्देमा तरुण दल र नेविसंघको चुनावी भेला
म्याग्दे (तनहुँ), २९ माघ ।
तनहुँको म्याग्दे गाउँपालिकामा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) को संयुक्त आयोजनामा ‘भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

म्याग्दे–४, थर्पु बजारमा आयोजित उक्त कार्यक्रम नेपाल तरुण दल म्याग्देका सभापति सन्तोष रानाको सभापतित्वमा सम्पन्न भएको हो। आसन्न निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको संगठन सुदृढीकरण र चुनावी रणनीति तय गर्न यो भेला आयोजना गरिएको थियो।

दुई महत्त्वपूर्ण समिति गठन
कार्यक्रमले आगामी चुनावलाई प्रभावकारी बनाउन तत्कालका लागि दुईवटा महत्त्वपूर्ण समितिहरू गठन गरेको छ। भेलाले ‘चुनाव प्रचार–प्रसार समिति’ र ‘आर्थिक समिति’ गठन गर्ने निर्णय गरेको छ। सोही अवसरमा चुनावी अभियान सञ्चालन गर्नका लागि उपस्थित कार्यकर्ताहरूबाट स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग समेत संकलन गरिएको थियो।
“म्याग्दे कांग्रेसको किल्ला हो”
अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले म्याग्दे गाउँपालिका नेपाली कांग्रेसको उर्वर भूमि र प्रजातन्त्रको गढ भएको दाबी गरे। कार्यक्रममा बोल्ने वक्ताहरूले विपक्षी दलहरूलाई कडा चेतावनी दिँदै भने, “सपनामा पनि म्याग्देमा आँखा नलगाए हुन्छ, किनकि यहाँका तरुण र विद्यार्थीहरू जागिसकेका छन्।”
वक्ताहरूले संकटको बेला जनतालाई साथ दिने पार्टी कांग्रेस मात्र भएको र म्याग्देको विकास निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको चर्चा गरेका थिए। नेविसंघका साथीहरूलाई वैचारिक रूपमा र तरुण दलका युवाहरूलाई संगठनको ‘ब्याकबोन’ (Backbone) को रूपमा उभिन आह्वान गरिएको थियो। “हामी आक्रमण गर्दैनौँ, तर हाम्रो माटो र विचारमाथि कोही जाइलाग्छ भने सहँदैनौँ,” भन्दै युवाहरूले म्याग्देमा कांग्रेसको कीर्तिमानी जित निकाल्ने उद्घोष गरेका छन्।
सहभागिता
उक्त अन्तरक्रिया कार्यक्रममा अनुप आले, रमेश अधिकारी, मनिष अर्याल, हिरा थापा, राम भक्त घिमिरे, जितराज राना, चाम थापा लगायतका युवा नेता तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले टोल–टोलमा पुगेर कांग्रेसको पक्षमा माहोल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका विभिन्न वडाबाट तरुण दल र नेविसंघका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

























