दमाैलीका युवा व्यवसायी वस्याल रास्वपा छाेडी काङ्ग्रेसमा प्रवेश , युवा नेता श्रेष्ठले गरे स्वागत

दमाैलीका युवा व्यवसायी वस्याल रास्वपा छाेडी काङ्ग्रेसमा प्रवेश , युवा नेता श्रेष्ठले गरे स्वागत


तनहुँको दमौलीका सफल र ऊर्जाशील युवा व्यवसायी बिरू वस्यालले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्। लामो समयदेखि लोकतान्त्रिक मूल्य र विचारधाराप्रति आस्था राख्दै आएका वस्यालले विशेष महाधिवेशनबाट युवा नेता गगन थापा पार्टी सभापतिमा आएपछि आफूभित्र नयाँ आशा र भरोसा पलाएको बताए।
“यो मेरो लामो समयदेखिको सपना थियो,” भावुक मुद्रामा वस्यालले भने, “देश र समाजका लागि केही गर्ने आकांक्षा अब काङ्ग्रेसमार्फत पूरा गर्ने विश्वास लिएको छु।”
पार्टी प्रवेश गराउँदै काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता मोहन कुमार श्रेष्ठले खादा ओढाएर वस्याललाई आत्मीय स्वागत गरेका थिए । पार्टीमा स्वागत गर्दै श्रेष्ठले भने, “युवा उद्यमीहरूको ऊर्जा र प्रतिबद्धता नै पार्टीको शक्ति हो। बिरूजी जस्ता क्षमतावान युवाको आगमनले काङ्ग्रेस अझ मजबुत बन्नेछ।” उनले वस्याललाई पार्टीभित्र उचित जिम्मेवारी र सम्मानजनक स्थान दिइने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा उपस्थित नेता तथा व्यवसायीहरूले वस्यालको निर्णयलाई सकारात्मक कदमको रूपमा व्याख्या गर्दै तनहुँमा नयाँ राजनीतिक सन्देश प्रवाह भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघका नेता कुमार मल्ल, महेश मल्ल, ब्रजेस शाह लगायतको उपस्थिति रहेको उक्त पार्टी प्रवेश कार्यक्रममा सहभागीहरूले वस्यालको सक्रियताले संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
राजनीतिक विश्लेषकहरूका अनुसार युवा पुस्ताको सक्रिय सहभागिताले लोकतान्त्रिक आन्दोलनलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ। दमौलीमा स्थापित व्यवसायीका रूपमा परिचित वस्याल अब सामाजिक र राजनीतिक दुवै क्षेत्रमा सक्रिय रहँदै युवाहरूको आवाज बुलन्द गर्ने तयारीमा छन्।


उनको काङ्ग्रेस प्रवेशसँगै स्थानीय राजनीतिक वृत्तमा उत्साह र आशाको लहर देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page