मधुमेहका कारण खुट्टा गुमाएकी ७२ वर्षीया वृद्धा अक्सिजनको भरमा, उपचार खर्च जुटाउन मुन्द्रा बेच्न बाध्य

दमौली, तनहुँ – ऋषिङ गाउँपालिका–७ खोरपाङ्दी घर भई हाल व्यास नगरपालिका–११, मुलपानी बस्दै आएकी ७२ वर्षीया भविसरा आले यतिबेला जीवन र मृत्युको संघर्षमा छिन्। मधुमेह (सुगर) र उच्च रक्तचापबाट पीडित उहाँको दाहिने खुट्टामा सुरुमा पानीको फोका जस्तो देखिएको घाउ क्रमशः पाक्दै गएपछि अवस्था गम्भीर बन्दै गएको थियो। उपचारका क्रममा अन्ततः खुट्टा घुँडाभन्दा माथिबाट काट्नुपरेको पीडादायी अवस्था आएको छ।
पोखरामा शल्यक्रिया गरी घर ल्याइएकी उनलाई पुनः स्वास्थ्यमा समस्या देखिएपछि दमौलीस्थित Ratnahari Hospital मा भर्ना गरिएको छ। चिकित्सकका अनुसार मुख्य नसाबाट रगत सञ्चार हुन नसक्दा अवस्था झन् जटिल बनेपछि शल्यक्रिया गर्नुपरेको थियो। हाल उहाँ अक्सिजनको सहारामा अस्पतालमै उपचाररत हुनुहुन्छ।


परिवारका सदस्य गीता आले (नातिनी बुहारी) का अनुसार खुट्टामा गरिएको अप्रेसनपछि संक्रमण फैलिँदै गएको छ। अहिले शरीरका अन्य भागमा पनि घाउ देखिन थालेका छन्। दैनिक ड्रेसिङ, औषधि र अक्सिजनको खर्च धान्न परिवारलाई निकै गाह्रो भइरहेको उनले बताइन्।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचार खर्च जुटाउन परिवारले बज्यैको मुन्द्रासमेत बेचिसकेको छ। हालसम्म केही आफन्तजनको सहयोगमा उपचार भइरहेको भए पनि अब खर्च धान्न असम्भव जस्तै भएको परिवारको भनाइ छ। घरमा नियमित आम्दानीको कुनै स्रोत छैन भने छोराछोरी विभिन्न स्थानमा सामान्य जीविकोपार्जन गर्दै बस्दै आएका छन्।
चिकित्सकहरूले अवस्था जटिल रहेको जनाएका छन्। संक्रमण नियन्त्रण, नियमित ड्रेसिङ, सुगर नियन्त्रण तथा अक्सिजन उपचार निरन्तर जारी राख्नुपर्ने भएकाले ठूलो आर्थिक भार परेको गीता आलेले बताइन्।

परिवारले दयालु मनहरू समक्ष जीवन रक्षाका लागि सहयोगको अपिल गरेको छ। “हामीसँग अब बेच्ने केही बाँकी छैन,” परिवार भावुक हुँदै भन्छ, “आमाको जीवन जोगाइदिन सबैसँग सहयोगको याचना गर्दछौं।”

























