महाशिवरात्रिको अवसरमा दमौली पञ्चमन्दिरमा दमाैली बजार इकाई द्वारा निशुल्क चिया वितरण

महाशिवरात्रिको अवसरमा दमौली पञ्चमन्दिरमा दमाैली बजार इकाई द्वारा निशुल्क चिया वितरण


तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाई समितिको आयोजनामा महाशिवरात्रि पर्वको पावन अवसरमा दमौलीस्थित पञ्चमन्दिर परिसरमा निशुल्क चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोड्दै प्रत्येक वर्ष झैँ यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गरिएको हो।
इकाई सभापति सेसराज श्रेष्ठका अनुसार कार्यक्रममा करिब ३५ सय कप चिया भक्तजन तथा सर्वसाधारणलाई वितरण गरिएको थियो। “महाशिवरात्रि पर्व हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो। यस अवसरमा मन्दिर दर्शनका लागि आउने श्रद्धालुहरूलाई सहजता होस् भन्ने उद्देश्यले हामीले हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएका छौँ,” श्रेष्ठले बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा धार्मिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपसभापति तथा अन्य पदाधिकारीहरूले पनि कार्यक्रम सफल बनाउन सक्रिय भूमिका निर्वाह गरेका थिए। बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरूको घुइँचो लागेका कारण कार्यक्रमस्थलमा उत्साहजनक वातावरण देखिएको थियो। स्वयंसेवकहरूले व्यवस्थित रूपमा चिया वितरण गरेका थिए भने सहभागीहरूले आयोजकप्रति आभार व्यक्त गरेका थिए।
इकाईले महाशिवरात्रि लगायत विभिन्न पर्व तथा विशेष अवसरहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, सरसफाइ अभियान, विपद् राहत सहयोग, शैक्षिक सामग्री वितरण जस्ता कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको जनाएको छ। स्थानीय समुदायसँग सहकार्य गर्दै सामाजिक सद्भाव, सहयोग र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिँदै आएको सभापति श्रेष्ठले उल्लेख गर्नुभयो।


कार्यक्रममा इकाईका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। चियापान कार्यक्रमले धार्मिक आस्था, सामाजिक एकता र सहकार्यको सन्देश प्रवाह गरेको आयोजक समितिले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page