१२ वर्षदेखि अलपत्र घुमाउने पुल : प्रतिबद्धतापछि पनि स्थानीयको एउटै प्रश्न—कहिले बन्छ पुल?

१२ वर्षदेखि अलपत्र घुमाउने पुल : प्रतिबद्धतापछि पनि स्थानीयको एउटै प्रश्न—कहिले बन्छ पुल?

आँबुखैरेनी, १६ फागुन — तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल १२ वर्षदेखि अलपत्र परेपछि यस क्षेत्रको चुनावी माहोल तातेको छ। गण्डकी प्रदेशलाई तराईसँग छोटो दूरीमा जोड्ने बुद्धसिंह मार्गको मुख्य संरचना मानिएको यो पुल निर्माणमा भएको लामो ढिलासुस्तीप्रति असन्तुष्टि बढ्दै जाँदा व्यास–देवघाट–बन्दिपुर–आँबुखैरेनी सम्बन्धित भूगोल पुल संघर्ष समितिले पुलस्थलमै प्रतिज्ञा तथा प्रतिबद्धता घोषणा कार्यक्रम आयोजना गरेकाे छ। कार्यक्रममा तनहुँ–१ का प्रमुख राजनीतिक दलका उम्मेदवारहरू उपस्थित भई निर्माण कार्य शीघ्र सम्पन्न गराउने लिखित प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकाल, नेपाली काङ्ग्रेसका गोविन्द भट्टराई, एमालेकि भगवती न्यौपाने, रास्वपाका स्वर्णिम वाग्ले, उज्यालो नेपालका मन्जिल राना, श्रम संस्कृति पार्टीका काशिराम गुरुङ र जनमुक्ति पार्टीका यमबहादुर आले लगायत सहभागी थिए। उनीहरूले स्थानीयको माग जायज रहेको स्वीकार गर्दै निर्माण प्रक्रियामा देखिएको ढिलासुस्ती, अनियमितता र गैरजिम्मेवारीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। आवश्यक समन्वय र पहलमार्फत कामलाई तीव्रता दिने उनीहरूको प्रतिबद्धता छ।
संघर्ष समितिका संयोजक सिद्धान्त थापाले पुल नबन्दा स्थानीयवासीले दैनिक आवतजावत, व्यापार–व्यवसाय तथा आकस्मिक सेवामा ठूलो सास्ती खेपिरहेकाे बताए । वर्षायाममा नदीको बहाव बढ्दा जोखिम झनै चुलिने र वैकल्पिक मार्ग नहुँदा आवागमन अवरुद्ध हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको भन्दै उनलेे सबै उम्मेदवारकाे ध्यानाकर्षण गराए ।
घुमाउने पुल आसपासका ६ वडाका करिब ७ हजार मतदाता प्रत्यक्ष प्रभावित छन्। चार मतदान केन्द्र रहेको यस क्षेत्रमा केही समयअघि ‘नो भोट’ अभियानसमेत सञ्चालन गरिएको थियो। माग सम्बोधन नभए पुनः कडा आन्दोलनमा उत्रिने चेतावनी संघर्ष समितिले दिएको छ।
स्थानीय अगुवाहरू धनबहादुर गुरुङ, भीमबहादुर राना र कमल गुरुङले चुनावी आश्वासनभन्दा परिणाम आवश्यक रहेको बताएका छन्। उनिहरूका अनुसार स्थानीय तहदेखि संघीय प्रतिनिधिसम्म पटक–पटक प्रतिबद्धता जनाइए पनि पुल हालसम्म फाउन्डेसन चरणमै सीमित छ। निर्माण कम्पनीको सुस्त गति, डिजाइन परिवर्तन र प्रशासनिक समन्वय अभावलाई ढिलाइको कारण बताइए पनि जनताले त्यसलाई बहाना मात्र मानेका छन्। अघिल्लो निर्वाचनमा विजयी स्वर्णिम वाग्लेले प्रक्रियागत जटिलता र बजेट व्यवस्थापनका कारण ढिलाइ भएको तर्क गर्दै अब निर्माण तीव्र बनाउने बताएका छन्।


चुनाव नजिकिँदै जाँदा घुमाउने पुल अब सामान्य पूर्वाधार आयोजना मात्र नभई राजनीतिक विश्वसनीयताको कसी बनेको छ। गण्डकी प्रदेशलाई तराईसँग जोड्ने छोटो मार्ग सञ्चालनमा आए स्थानीय अर्थतन्त्र, पर्यटन र दैनिक जनजीवनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। तर दशक लामो प्रतीक्षापछि स्थानीयको एउटै प्रश्न छ—यसपटक पनि आश्वासनमै सीमित हुने कि साँच्चै निर्माण अघि बढ्ने?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page