विभिन्न राजनीतिक दलबाट तनहुँमा १ सय ७९ जना रास्वपामा प्रवेश
तनहुँ, दमौली — चुनाव नजिकिँदै गर्दा तनहुँमा महत्वपूर्ण राजनीतिक हलचल देखिएको छ।
व्यास नगरपालिका र भानु नगरपालिका क्षेत्रका नेपाली कांग्रेस, नेकपा एमाले लगायत दमाैलीमा विभिन्न राजनीतिक दलमा आवद्ध १७९ जना नेता तथा कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सामूहिक रूपमा प्रवेश गर्ने घोषणा गरेका छन्।
दमौलीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले औपचारिक रूपमा पार्टी प्रवेशको घोषणा गरेका हुन्। प्रवेश गर्ने टोलीमा नेकपा एमाले तनहुँ जिल्ला कमिटीका पूर्व सदस्य मुरलिधर पण्डित, रत्नकुमार श्रेष्ठ लगायत रहेका छन्।
उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा नयाँ विकल्पको आवश्यकता महसुस गर्दै रास्वपामा आवद्ध भएको बताएका छन्।
चुनावी माहोल तातिँदै गएको अवस्थामा भएको यस सामूहिक प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। स्थानीय तहको मत–समीकरणमा यसले प्रभाव पार्ने आकलन गरिएको छ। विशेषगरी व्यास र भानु क्षेत्रमा परम्परागत रूपमा प्रभाव राख्दै आएका दलहरूका लागि यो घटनाक्रमलाई चुनौतीका रूपमा विश्लेषण गरिएको छ।

राजनीतिक वृत्तमा यस कदमले आगामी निर्वाचनमा प्रतिस्पर्धा थप कडा र रोचक बन्ने संकेत गरेको चर्चा चलिरहेको छ।


























