तनहुँमा बदलियो चुनावी दृश्य: स्वतन्त्र उम्मेदवार लौडारीसहित दुई सय युवा काँग्रेसमा समाहित
दमौली, फागुन १७ गते तनहुँको चुनावी सरगर्मी उत्कर्षमा पुगिरहेका बेला यहाँको राजनीतिक समीकरणमा महत्वपूर्ण फेरबदल देखिएको छ। स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी त्याग गर्दै नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई पूर्ण समर्थन गर्ने घोषणा गर्नुभएको छ। आइतबार साँझ आयोजित एक विशेष कार्यक्रमका बीच लौडारीको नेतृत्वमा दुई सयभन्दा बढी प्रभावशाली युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेसँगै चुनावी माहोल भट्टराईको पक्षमा थप बलियो बनेको दावी गरिएको छ। कुनै पनि अवसरवादको पछि नलागी निष्ठावान र इमानदार नेतालाई साथ दिनु नै वर्तमानको आवश्यकता रहेको ठहर गर्दै आफू काँग्रेसमा समाहित भएको लौडारीले स्पष्ट पार्नुभयो।

नवप्रवेशी युवाहरूलाई हार्दिक स्वागत गर्दै उम्मेदवार गोविन्द भट्टराईले आफू सधैँ युवा पुस्ता अर्थात् ‘जेन-जी’ को भावना र आकांक्षा बुझ्ने नेतृत्व भएको बताउनुभयो। नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष रहँदा आफूले वर्तमान महामन्त्री गगन थापाजस्ता युवाहरूलाई राजनीतिको मूलधारमा अवसर दिएको स्मरण गर्दै उहाँले नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गराउन आफू सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। आफ्नो राजनीतिक यात्राको सुरुवातदेखि नै भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहेको चर्चा गर्दै भट्टराईले अहिलेको युवा पुस्ताको मुख्य माग सुशासन र स्वदेशमै सम्मानजनक रोजगारी भएकोमा जोड दिनुभयो। सुशासन कायम गर्ने, भ्रष्टाचारको जरो उखेल्ने र युवाका लागि अवसर सिर्जना गर्ने विषय नै आफ्नो मुख्य चुनावी एजेन्डा रहेको उहाँको दृढता थियो।


























