तनहुँ–२ मा कांग्रेस उम्मेदवार शंकर भण्डारीको मतदातासँग अपिल
तनहुँ, फागुन १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ बाट शंकर भण्डारी ले मतदातासमक्ष पुनः एकपटक समर्थनको अपिल गर्नुभएको छ।
नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले राजनीति सेवा भएको उल्लेख गर्दै यसलाई पेशा नभई जिम्मेवारीका रूपमा लिएको बताउनुभएको छ। तनहुँको गाउँ–सहरका उकालो–ओरालो, धुलो–हिलोसँग आफू नजिकबाट परिचित रहेको स्मरण गर्दै उहाँले विगतमा सुरु भएका अधुरा योजना तथा कार्यक्रमलाई पूरा गर्न पुनः अवसर दिन आग्रह गर्नुभएको छ।
उहाँले अघिल्लो निर्वाचनमा मतदाताले दिएको विश्वास र मायालाई कहिल्यै नबिर्सिएको उल्लेख गर्नुभयो। प्रतिनिधि सभा विघटनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिका कारण केही योजना अधुरा रहेको बताउँदै ती काम सम्पन्न गर्न पुनः एकपटक अवसर दिनुपर्ने धारणा राख्नुभयो।
“आक्रोश र असन्तुष्टिलाई शक्तिमा बदलौँ, अपेक्षा र निराशालाई आशामा बदलौँ,” भन्दै भण्डारीले सबैलाई एकजुट भएर विकासका अधुरा काम पूरा गर्न आह्वान गर्नुभएको छ।

उहाँले फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरी विजयी गराउन मतदातासमक्ष हार्दिक अपिल गर्नुभएको छ।


























