परिवर्तनका लागि आम निर्वाचन २०८२ निर्णायक अवसर : स्वर्णिम वाग्ले

परिवर्तनका लागि आम निर्वाचन २०८२ निर्णायक अवसर : स्वर्णिम वाग्ले


काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा तनहुँ–१ का संघीय सांसद उम्मेदवार स्वर्णिम वाग्लेले आम निर्वाचन २०८२ लाई नियमित चुनावभन्दा फरक र राजनीतिक संस्कार सुधार्ने दुर्लभ अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
उनले तीन दशकमा धेरै सरकार परिवर्तन भए पनि बलियो प्रणाली निर्माण हुन नसकेको उल्लेख गर्दै अब अनुहार परिवर्तन मात्र नभई शासन पद्धतिमा सुधार आवश्यक रहेको बताए। “कमजोर संस्था, महँगो चुनाव, पहुँच र प्रभावको राजनीति तथा उत्तरदायित्वको अभावले देशको सम्भावनालाई रोकिरहेको छ,” वाग्लेले भने।
रास्वपाले संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले राज्य नागरिकको सेवा गर्ने संरचनाका रूपमा विकसित हुनुपर्ने धारणा राखे। विश्वविद्यालय ज्ञानको केन्द्र, अस्पताल सेवाको केन्द्र र प्रशासन पेशागत तथा देशप्रति निष्ठावान् हुनुपर्ने उनको भनाइ थियो। पारदर्शिता, जवाफदेहिता र मेरिटका आधारमा निर्णय लिनु नै सुशासनको आधार भएको उनले बताए।
आर्थिक नीतिबारे बोल्दै वाग्लेले उत्पादन र उत्पादकत्व वृद्धि आफ्नो दलको मुख्य प्राथमिकता भएको स्पष्ट पारे। उद्यमशील युवालाई अवसर, साना व्यवसायलाई सहजीकरण, वृहत् लगानीलाई प्रोत्साहन, प्रतिस्पर्धा–उन्मुख नियमन र आर्थिक अपराधमाथि कडाइ गर्ने नीति लिइने उनले बताए। सामाजिक न्यायसहितको उदार अर्थतन्त्र निर्माण गर्न रास्वपा प्रतिबद्ध रहेको उनको दाबी थियो।
डिजिटल शासनमार्फत सेवा प्रवाहलाई सरल, पारदर्शी र कम लागतयुक्त बनाउने योजना रहेको पनि उनले उल्लेख गरे। “लाइनमा होइन, अनलाइनमा सेवा” भन्ने अवधारणा अघि सार्दै उनले ज्ञान–आधारित अर्थतन्त्र निर्माणतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए।


वाग्लेले आफ्नो दल पूर्ण नभए पनि प्रतिबद्ध रहेको बताउँदै गल्ती भए स्वीकार गरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचनलाई सिटको गणित मात्र नभई भविष्यको दिशानिर्देशका रूपमा लिन आग्रह गरे।
तीन दशकको निराशा तोडेर स्वच्छ राजनीतिको आधारमा आमूल परिवर्तन रोज्ने समय आएको उनको भनाइ थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page