तनहुँ १ एमाले उम्मेदवार भगवती न्यौपानेले विकास र समृद्धिको लक्ष्यसहित मत अपिल
तनहुँ, फाल्गुन २० — तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि उम्मेदवार नेकपा एमाले उम्मेदवार भगवती न्यौपानेले मतदातासँग अन्तिम पटक सम्पर्क गर्दै मत अपिल गर्नुभएको छ। आज रातिदेखि सुरु हुने मौन अवधिअघि उहाँले आफ्नो अभियानको मुख्य संदेश र प्रतिबद्धताहरू जनता समक्ष प्रस्तुत गर्नुभएको हो।
भानु नगरपालिका वडा नं. ८ देउरालीटार जन्मस्थल भएकी उम्मेदवार न्यौपानेले आफूलाई “जनताको छोरी, दिदी र बहिनी” को रूपमा प्रस्तुत गर्दै भन्नुभयो, “यो निर्वाचनमा उम्मेदवार स्वयं जनता नै हुनुहुन्छ। तपाईंहरूको सपना मेरो एजेण्डा, तपाईंहरूको संघर्ष मेरो आन्दोलन हो।”
उहाँले प्रतिनिधिसभा सदस्य चुनिएपछि संघीय संसदमा कानुन निर्माण, नीति सुधार र बजेट विनियोजनमार्फत तनहुँ १ का पाँचै पालिकालाई विकास र सेवा प्रवाहको उत्कृष्ट नमुना बनाउने अटल संकल्प व्यक्त गर्नुभयो। व्यास नगरपालिकालाई उहाँ आधुनिक र प्रविधिमैत्री सेवा केन्द्रको रूपमा विकास गर्ने, भानु नगरपालिकालाई कृषि उत्पादन र साहित्यिक गतिविधिको केन्द्रको रूपमा स्थापित गर्ने, आबुखैरेनि गाउँपालिकालाई व्यापार र लगानीको प्रवेशद्वार बनाउने, देवघाट गाउँपालिकालाई आस्था र आध्यात्मिक पर्यटनको नमुना केन्द्रको रूपमा विकास गर्ने र बन्दिपुर गाउँपालिकालाई दीगो पर्यटन अर्थतन्त्रको सशक्त मोडेलको रूपमा अघि बढाउने स्पष्ट योजना रहेको उहाँले बताउनुभयो।
उहाँले घरदैलो अभियान अन्तर्गत ४२ वटै वडाका प्रत्येक घर–घरमा पुग्ने प्रयास गरेको जानकारी दिइन्। “विविध कारणले सबै घरमा पुग्न सकिनँ होला, तर म सधैं तपाईंहरूको साथमै छु र रहनेछु।”

उम्मेदवार न्यौपानेले फाल्गुन २१ गते सूर्य चिन्हमा मतदान गरी अत्याधिक मतका साथ विजयी गराउन हार्दिक अपिल गर्दै भन्नुभयो, “यो विजय व्यक्तिगत नभई तनहुँ क्षेत्र नं. १ को समग्र समृद्धिको विजय हुनेछ। आउनुहोस्, हामी सबै मिलेर यस्तो क्षेत्र बनाऔँ जहाँ विकास देखिन्छ, सेवा महसुस हुन्छ र समृद्धि अनुभव गर्न सकिन्छ।”


























