स्वर्णिम वाग्लेको अत्याधिक अग्रता : देवघाट–आँबु–बन्दिपुरमा घण्टीको प्रभाव
देवघाट, आँबु र बन्दिपुर क्षेत्र (ब्यास र भानु बाहेक) को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै घण्टी चुनाव चिन्हबाट उम्मेदवारी दिएका स्वर्णिम वाग्लेले अत्याधिक अग्रता हासिल गरेका छन्। प्राप्त मतपरिणाम अनुसार घण्टी चिन्हले १२,२४४ मत प्राप्त गरेको छ भने रुख चिन्हले ४,३९५ मत पाएको छ। त्यस्तै सुर्य चिन्हले २,२४७ मत र तारा चिन्हले १,६९० मत प्राप्त गरेका छन्। अन्य चुनाव चिन्हहरूमा माटोले ४४९, हलोले २७३, चिमले १२२, भालेले ५०, गुलाफको फूलले ४८, मानापाथिले २८, घरले २८, मौरीले १५, कैचीले ११, आँपले ९, मादलले ७ र मोबाइल चिन्हले ५ मत प्राप्त गरेका छन्।
यस परिणामअनुसार स्वर्णिम वाग्लेले दोस्रो स्थानमा रहेको रुख चिन्हभन्दा ७,८४९ मतको फराकिलो अन्तर कायम गरेका छन्। यो मतान्तरले यस क्षेत्रमा घण्टी चिन्हप्रति मतदाताको बलियो समर्थन रहेको देखिएको छ।
पछिल्ला निर्वाचनहरूमा यस क्षेत्र परम्परागत रूपमा रुख र सुर्य चिन्ह भएका दलहरूको प्रभावमा रहेको मानिन्थ्यो। तर पछिल्लो समय नेपाली राजनीतिमा देखा परेको नयाँ वैकल्पिक धार र परिवर्तनको चाहनाले मतदाताको मनोविज्ञानमा पनि परिवर्तन ल्याएको देखिन्छ। यही परिवर्तनको प्रभाव अहिलेको मतपरिणाममा स्पष्ट रूपमा देखिएको छ, जहाँ घण्टी चिन्हले अत्याधिक मत प्राप्त गर्दै परम्परागत दलहरूलाई पछाडि पारेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार स्वर्णिम वाग्लेको लोकप्रियता बढ्नुका प्रमुख कारणहरूमा उनको नीतिगत स्पष्टता, आर्थिक विषयमा गहिरो ज्ञान, सुशासनप्रतिको प्रतिबद्धता तथा युवापुस्तामा बढ्दो आकर्षणलाई मानिएको छ। स्थानीय स्तरमा विकास र पारदर्शिताको अपेक्षा राखेका मतदाताले नयाँ नेतृत्वलाई समर्थन गरेको देखिन्छ।
समग्रमा देवघाट, आँबु र बन्दिपुर क्षेत्रको यो परिणामले नेपाली राजनीतिमा नयाँ विकल्पप्रति जनताको विश्वास बढ्दै गएको संकेत गरेको छ। यदि यस्तै प्रवृत्ति अन्य क्षेत्रमा पनि देखियो भने आगामी राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन आउने अनुमान गरिएको छ। वाग्लेले गत निर्वाचनमा पनि यसै क्षेत्र बाट विजयी भएका थिए ।


























