एसपी टेकबहादुर कार्कीको नेतृत्वमा तनहुँमा शान्तिपूर्ण निर्वाचन सम्पन्न

एसपी टेकबहादुर कार्कीको नेतृत्वमा तनहुँमा शान्तिपूर्ण निर्वाचन सम्पन्न

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभर झैँ तनहुँ जिल्लामा पनि शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ। जिल्लामा प्रभावकारी सुरक्षा व्यवस्थापन र संयमित परिचालनका कारण कुनै पनि प्रकारका झडप वा हिंसात्मक घटना हुन पाएनन्। जिल्लाको सुरक्षा व्यवस्थापनमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्कीको नेतृत्वलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
करिब सात महिनाअघि तनहुँको प्रहरी नेतृत्व सम्हालेका एसपी कार्कीले जिल्लामा शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कार्यसम्पादन गर्दै आएका छन्। उनको कार्यकालमा तनहुँमा सुरक्षा अवस्था स्थिर र शान्त रहँदै आएको स्थानीय सरोकारवालाहरू बताउँछन्। प्रहरी परिचालनमा अनुशासन, संयमता र समन्वयलाई प्राथमिकता दिने शैलीका कारण उनी हालसम्म कुनै विवादमा नपरेको प्रहरी स्रोतहरू बताउँछन्।
निर्वाचनका क्रममा जिल्लाभरका मतदान केन्द्रहरूमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको थियो। संवेदनशील मतदान केन्द्रहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्नुका साथै नियमित गस्ती र अनुगमनलाई पनि कडाइका साथ कार्यान्वयन गरिएको थियो। मतदानका क्रममा कतिपय स्थानमा सामान्य विवाद देखिए पनि सुरक्षामा खटिएका प्रहरी टोलीले तत्कालै स्थिति नियन्त्रणमा लिएपछि मतदान प्रक्रिया अवरोधरहित रूपमा अघि बढेको थियो।
एसपी कार्कीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गरिएकाले निर्वाचन सुरक्षा व्यवस्थापन थप सुदृढ बनेको थियो। सुरक्षाकर्मीहरूको सक्रियता र समन्वयले मतदातालाई भयरहित वातावरणमा मतदान गर्न सहज भएको स्थानीयवासीहरू बताउँछन्।
तनहुँमा विगतका निर्वाचनहरूमा देखिएका छिटपुट विवाद र तनावका घटनाहरू यसपटक देखिन नपाउनु सुरक्षा व्यवस्थापनको सफलताको रूपमा लिइएको छ। अघिल्ला अनुभवलाई ध्यानमा राखी तयार गरिएको सुरक्षा रणनीति र सुरक्षाकर्मीहरूको समर्पित परिचालनका कारण जिल्लामा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको प्रशासनिक स्रोतले जनाएको छ।


एसपी टेकबहादुर कार्कीको संयमित, विवादरहित र परिणाममुखी नेतृत्वका कारण तनहुँमा पछिल्लो समय शान्ति सुरक्षा अवस्था मजबुत बन्दै गएको देखिएको छ। लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनको नेतृत्वलाई जिल्लामा सकारात्मक रूपमा हेरिएको छ। तनहुँमा प्रतक्ष्य तर्फकाे मतगणना सकिए सँगै अहिले समानुपातिक तर्फकाे मतगणना अन्तिम चरणमा पुगेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page