पाँचौ शुक्लागण्डकी महोत्सव शुरु, १ सय ७ वर्षिय राउत र सांसद न्यौपानले गरे उद्घाटन

पाँचौ शुक्लागण्डकी महोत्सव शुरु, १ सय ७ वर्षिय राउत र सांसद न्यौपानले गरे उद्घाटन


दुलेगौंडा, ६ चैत । पाँचौ शुक्लागण्डकी महोत्सव–२०८२ शुरु भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजित महोत्सवको नगरका जेष्ठ सदस्य १ सय ७ वर्षिय गणेश बहादुर राउत र तनहुँ–२ का नवनिर्वाचित प्रतिनिधी सभा सदस्य श्रीराम न्यौपानेले संयुक्तरुपमा उद्घाटन गरे । आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सव चैत १७ गते सम्म चल्ने छ ।

उद्घाटनको अवसरमा प्रतिनिधी सभा सदस्य न्यौपानेले उर्जाकै माध्यमबाट देशले फड्को मार्ने बताउदै सबैको साथ र सहयोग लिएर अगाडी बढ्ने प्रतिवद्धता जनाए । मुल संयोजक एवम् नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले संघले आयोजना गरेपनि समग्र नगरको महोत्सवको रुपमा रहेको प्रष्ट पारे । कार्यक्रममा प्रदेश सभा सदस्य श्यामराजा महत, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य युवराज राज भण्डारी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश उपाध्यक्ष सुर्य बहादुर भुजेल, बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्य, महिला उद्यमी विकास समिति शुक्लागण्डकी अध्यक्ष मनिषा विक, आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष कुल कुमार कुमाल लगायतले बोलेका थिए । संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सुजन श्रेष्ठ र उपमहासचिव विर्सना श्रेष्ठले गरेका थिए । सोहि अवसरमा सर्जक नारायण कुमार श्रेष्ठको रचनामा निर्माण गरिएको सलल शुक्लागण्डकी गीत सार्वजनिक गरिएको थियो । गीत बज्दा १ सय ७ वर्षिय राउत नाचेका थिए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ । साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको श्रेष्ठले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ । महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव हुन लागेको हो । महोत्सव उद्घाटनपूर्व विभिन्न संघसंस्था, आमा समुह, जातजातिको सहभागितामा झाँकीसहितको ¥याली निकालिएको थियो ।


महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ७५ लाख खर्च हुने अनुमान छ । महोत्सव अन्तर्गत शनिवार कलाकार भूमिका गिरी, विष्णु खत्री, कृष्ण सुवेदी, शान्ता बर्देवा लगायतको प्रस्तुती रहने कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page