जलदेवी माविमा मिनु सेञ्चुरी प्रधानाध्यापक नियुक्त
तनहुँ, चैत्र ९ — व्यास नगरपालिका–१, भादगाउँस्थित श्री जलदेवी माध्यमिक विद्यालयमा मिनु सेञ्चुरी प्रधानाध्यापक पदमा नियुक्त हुनुभएको छ।
व्यास नगरपालिका–१३, पोखरी भञ्ज्याङ निवासी सेञ्चुरीलाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको हो। उहाँ कुशल प्रशासक, निडर, कर्मयोगी तथा कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।
नवनियुक्त प्रधानाध्यापक सेञ्चुरीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन सुदृढीकरण तथा समग्र शैक्षिक वातावरण सुधारमा जोड दिने बताउनुभएको छ। उहाँकाे नेतृत्वमा विद्यालयले नयाँ उचाइ हासिल गर्ने विश्वास विद्यालय परिवारले लिएको छ।

विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीयवासीले उहाँको सफल कार्यकालको कामना व्यक्त गरेका छन्।




























