पाँचौं शुक्लागण्डकी महोत्सव जारी

पाँचौं शुक्लागण्डकी महोत्सव जारी


दुलेगौंडा, ९ चैत ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौं शुक्लागण्डकी महोत्सव उत्साहका साथ जारी रहेको छ। बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुला चौरमा सञ्चालन भइरहेको महोत्सवमा दैनिकजसो विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूले दर्शकलाई आकर्षित गरिरहेका छन्।
सोमबार दिउँसो राजन कार्की, कृष्ण गुरुङ, सरस्वती लामिछाने र शिव शर्मा लगायतका कलाकारहरूको प्रस्तुतीले दर्शकलाई नचाएको थियो भने साँझ चर्चित ब्यान्ड भियोमाको लाइभ कन्सर्टले माहोल थप तताएको थियो।
मंगलबारका लागि लोकदोहोरी तथा आधुनिक विधाका चर्चित कलाकार बद्री पंगेनी, नविना सिलवाल (खुईली), सिमा थापा र मधु थापा लगायतको प्रस्तुती तय गरिएको कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेमबहादुर श्रेष्ठले जानकारी दिए।
“आर्थिक, सामाजिक तथा खेलकुद विकास, कृषि तथा पर्यटन प्रवर्द्धन, कला, सीप र संस्कृतिको संरक्षण” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको महोत्सव चैत १७ गतेसम्म जारी रहनेछ। महोत्सवका मूल संयोजक समुन्द्रराम श्रेष्ठका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुती, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक–सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको पदयात्रा समेत समावेश गरिएको छ।
त्यसैगरी पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका गतिविधिहरू पनि महोत्सवका आकर्षण बनेका छन्। प्रवक्ता सुजन श्रेष्ठका अनुसार यसपटक युवापुस्तालाई लक्षित गर्दै टिकटक र रिल्स प्रतियोगिता समेत समावेश गरिएको छ।


महिला उद्यमी विकास समिति तथा विभिन्न वडा व्यवस्थापन समितिहरूको सह–आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा घरेलु तथा कृषि उत्पादन, व्यवसायिक स्टल, रेष्टुरेन्ट, सामाजिक संस्था, सूचना केन्द्र तथा स्वास्थ्य शिविरसहित कुल १७५ वटा स्टलहरू रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page