बीपी विचार समाज तनहुँकाे अधिवेशन सम्पन्न ,अध्यक्षमा अधिकारी
तनहुँ — बीपी विचार समाज तनहुँको सातौं जिल्ला अधिवेशनबाट प्रताप सिंह अधिकारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। अधिवेशनले सर्वसम्मत रूपमा अधिकारीलाई सभापतिमा चयन गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो।
नवनिर्वाचित समितिमा उपसभापतिमा क्याप्टेन रेशम बहादुर गुरुङ, कोषाध्यक्षमा भीमकुमार श्रेष्ठ र सह–सचिवमा लालमती गुरुङ चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा नरनाथ काफ्ले, इन्द्रबहादुर दरै, ई. दीर्घबहादुर थापा क्षेत्री, केशरबहादुर गुरुङ, नरेन्द्र थापा, इन्द्रप्रसाद पौडेल, हरिप्रसाद भण्डारी, विजयराज भट्टराई, विष्णुप्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ, तुलसी सिग्देल लगायत रहनुभएको छ।
नवनिर्वाचित सभापति अधिकारीले संगठनलाई बीपी कोइरालाको विचार, सिद्धान्त र आदर्शअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले समाजलाई थप सक्रिय, सशक्त र जनमुखी बनाउँदै वैचारिक अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्ने बताउनुभयो।
निर्वाचन समितिका संयोजक अधिवक्ता ऋषिराम पोख्रेलका अनुसार विधानअनुसार २१ सदस्यीय जिल्ला समिति गठन गरिएको हो। सभापति र सदस्यहरू निर्वाचित हुने तथा अन्य पदाधिकारी सभापतिले मनोनयन गर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद, सामाजिक न्याय र राष्ट्रियताको मूल मान्यतालाई व्यवहारमा उतार्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।




























