जिल्ला मालपोत कार्यालय तनहुँमा नयाँ व्यवस्था: गेटबाटै सेवा मार्गदर्शन
दमौली — जिल्ला मालपोत कार्यालय तनहुँमा आजदेखि सेवाप्रवाहलाई थप व्यवस्थित र सेवामैत्री बनाउन नयाँ व्यवस्था लागू गरिएको छ। नयाँ सरकार आएपछि सुधारका कदमस्वरूप कार्यालय प्रवेशमै कडाइ गरिएको हो।
अब गेटमै खटिएका कर्मचारीले सेवाग्राहीसँग के कामका लागि आएको हो भनी सोधेर सम्बन्धित फाँट (शाखा) तर्फ मार्गदर्शन गर्ने व्यवस्था मिलाइएको छ। यसले सेवाग्राहीलाई अनावश्यक रूपमा भित्र घुम्न नपर्ने र सिधै आवश्यक स्थानमा पुग्न सहज बनाएको छ।
यसैगरी, सेवाग्राही बाहेक अन्य व्यक्तिलाई कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको छ भने लेखापढी व्यवसायीहरूलाई पनि गेट भित्र पस्न नदिने नीति लागू गरिएको छ।
आँबुखैरेनी बाट आएका सेवाग्राही परशुराम ढकालका अनुसार नयाँ व्यवस्थापछि कार्यालयभित्र भिडभाड घटेको छ, वातावरण खुल्ला भएको छ र काम गर्न धेरै सहज भएको छ। ढकालले कार्यालयमा सेवा लिन आउँदा छिटो र व्यवस्थित सेवा पाएकाे भन्दै खुसी व्यक्त गरे ।

कार्यालयले सेवामा पारदर्शिता, अनुशासन र प्रभावकारिता ल्याउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको जनाएको छ ।


























