व्यास नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

व्यास नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

दमौली, २० चैत । व्यास नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ तनहुँको समन्वयमा आज व्यास नगरपालिका–७ कलेस्तीमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय बासिन्दाहरूले विविध समस्या तथा गुनासाहरू प्रस्तुत गरेका छन् ।

व्यास–७ का शम्शेरबहादुर कुँवरले गाउँमा बाँदरको आतङ्क बढ्दै गएको भन्दै नियन्त्रणका लागि पहल गर्न माग गर्नुभयो । यस्तै, बलबहादुर रानाले राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण गर्न र वडाबाट विनियोजन भएको बजेटको भुक्तानी प्रक्रिया पनि वडाबाटै सहज बनाउनुपर्ने धारणा राख्नुभयो ।

स्थानीय सीता नेपालीले तालिम लिए पनि उद्यमी बन्न पर्याप्त सहयोग नपाएको गुनासो गर्दै नगरपालिकाले उद्यमशीलता प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

व्यास–१० गणेश टोल विकास संस्थाका अध्यक्ष श्रीराम कुँवरले अव्यवस्थित बसोबासीको जग्गा नापजाँच एकैपटक व्यवस्थित ढङ्गले गर्न आग्रह गर्दै बैरेनी जग्गा एकीकरण आयोजनामा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण गराउनुभयो ।

व्यास–६ का बामदेव पण्डितले आस्थाका आधारमा बजेट विनियोजनमा विभेद नगर्न आग्रह गर्नुभयो । व्यास–९ माझफाँटका नारायण न्यौपानेले कुहिने फोहरलाई मलको रूपमा प्रयोग गर्ने र प्लाष्टिक तथा सिसाजन्य फोहर व्यवस्थापनका लागि हप्तामा कम्तीमा एक दिन सवारी साधनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी, व्यास–७ की सीता गुरुङले वडाले विकास निर्माणमा अपेक्षित प्राथमिकता नदिएको गुनासो राख्नुभयो । त्यसअवसरमा स्थानीय देवी परियार, विजय गिरीले पनि आफ्ना समस्या तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उठेका गुनासाहरू सम्बोधन गर्दै बाँदर नियन्त्रण राष्ट्रियस्तरकै समस्या भएको उल्लेख गर्नुभयो । नगरपालिकाले यसअघि केही प्रयास गरे पनि अपेक्षित सफलता हासिल नभएको भन्दै आगामी दिनमा थप छलफल र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सेवा प्रवाहलाई थप सहज, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता जनाउँदै नागरिकका गुनासा सम्बोधनलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरू, खर्च विवरण र उपलब्धिहरू सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, ६ का वडाध्यक्ष जीवन गुरुङ, ७ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, ९ का वडाध्यक्ष सुरेश थापा लगायतले सहभागीका जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले गर्नुभएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page