व्यासको सिमाना हेरफेरमा म्याग्दे किन मौन ? मान्हौकोटको भविष्यबारे प्रश्न
— अनिल अधिकारी, म्याग्दे–१
छिमेकी व्यास नगरपालिका सिमाना हेरफेरको तयारीमा जुटिरहेको सन्दर्भमा म्याग्दे गाउँपालिका र यहाँका जनप्रतिनिधिहरूको मौनता गम्भीर प्रश्नको विषय बनेको छ। स्थानीय तह पुनर्संरचना हुँदा साबिक सूर्य नेपाल प्रालि क्षेत्रसम्मको सिमाना र मान्हौकोटको टुप्पो छुटाउनु आफैंमा एउटा कमजोरी थियो, जसको प्रभाव अहिले पनि देखिँदै आएको छ।
सूर्य नेपाल प्रालिले म्याग्दे गाउँपालिकालाई सहयोग गर्दै आएको भए पनि मान्हौकोट भने ठूलो सम्भावना बोकेको पर्यटकीय गन्तव्य हो। यसको दीर्घकालीन महत्वलाई बेवास्ता गर्नु स्थानीय विकासका लागि घाटाको विषय बन्न सक्छ।
गत चैत २२ गते बसेको व्यास नगरपालिकाको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सिमाना हेरफेर प्रक्रिया अघि बढाउने निर्णय गर्दै नागरिक तथा जनप्रतिनिधिहरूसँग राय–सुझाव माग गरेको छ। म्याग्देसँग सिधै जोडिएको विषय हुँदा पनि यहाँका जनप्रतिनिधिहरूले यसबारे स्पष्ट धारणा सार्वजनिक नगर्नु चिन्ताजनक छ।
मान्हौकोट, जुन हाल व्यास नगरपालिका–५ मा पर्छ, वास्तवमा म्याग्दे गाउँपालिका वडा नं. १ अन्तर्गत साबिक जामुने गाविससँग जोडिएको भूभाग हो। त्यसैले यसलाई पुनः म्याग्देमा समायोजन गर्नुपर्ने आवाज स्थानीयस्तरमा बलियो बन्दै गएको छ।
मान्हौकोटलाई म्याग्दे–१ मा गाभी त्यस क्षेत्रका टाक्राङ, बर्च्याङ, गुञ्जरा, किल्चोक, छाङ र साउनेपानी जस्ता बस्तीहरूलाई समेटेर विशेष पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिन्छ। मगर समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रलाई मगर सांस्कृतिक पर्यटन, कृषि पर्यटन तथा ग्रामीण पर्यटनको केन्द्र बनाउन सकिने प्रचुर सम्भावना छ।
यस भेगबाट बढ्दो बसाइँसराइको मुख्य कारण रोजगारी अभाव हो। यदि यस क्षेत्रलाई पर्यटन तथा कृषि–आधारित आर्थिक केन्द्रका रूपमा विकास गर्न सकियो भने गाउँमै रोजगारी सिर्जना भई बसाइँसराइ घटाउन मद्दत पुग्नेछ।
त्यसैले, म्याग्दे गाउँपालिकाले छिमेकी पालिकासँग आवश्यक समन्वय गर्दै मान्हौकोटलाई पुनः आफ्नो क्षेत्रमा समावेश गर्ने विषयमा स्पष्ट पहल गर्न जरुरी देखिन्छ। यो केवल सिमानाको प्रश्न मात्र होइन, भविष्यको सम्भावना, पहिचान र समृद्धिसँग जोडिएको विषय हो।

अब म्याग्दे गाउँपालिका र यहाँका जनप्रतिनिधिहरूले यस विषयमा कस्तो भूमिका निर्वाह गर्छन् भन्ने कुरामा स्थानीयवासीको चासो केन्द्रित भएको छ।


























