दभुङ चण्डी पूजा सम्पन्न
दमौली, तनहुँ — म्याग्दे गाउँपालिका–१ दभुङ डाँडामा आइतबार परम्परागत चण्डी पूजा धुमधामका साथ सम्पन्न भएको छ। पूजा अवलोकनका लागि जामुने, साँघे, मनपाङ, दमौली र पोखरा लगायत विभिन्न स्थानबाट हजारौँ भक्तजनको उपस्थिति रहेको थियो।
मुख्य पुजारीसहित अन्य पुजारीहरूले बाजागाजासहित विधिपूर्वक पूजा सम्पन्न गरेका थिए। मनोकाङ्क्षा पूरा भएपछि भक्तजनहरूले मन्दिरमा पुगेर बलि चढाउने चलन रहेको छ। यस वर्ष मन्दिरमा १२ वटा सुँगुर, १५ वटा बोका, पाँच सयभन्दा बढी कुखुरा तथा परेवा बलि चढाइएको मन्दिरका मुख्य पुजारी दुर्गाधन थापा मगरले जानकारी दिए।
अक्षय तृतीयापछिको पहिलो आइतबार पर्ने यस चण्डी पूजामा पाँच हजारभन्दा बढी भक्तजन सहभागी भएको चण्डीदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष काजीमान श्रेष्ठले बताए। गाउँमा कुनै संकट आएमा देवीको पूजा गर्ने र संकट अन्त्य भएपछि मन्दिरमा बलि दिने परम्परा रहिआएको स्थानीयले बताएका छन्।

चण्डीदेवी मन्दिर क्षेत्रमा हरियाली जंगल, प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भक्तजनको आकर्षण बढाउँदै आएको छ। मेलामा स्थानीय उत्पादनका काक्रो, केरा, उसिनेका तरुल, पिँडालु, दही लगायतका सामग्रीको समेत राम्रो व्यापार भएको थियो। साथै, प्रत्येक महिनाको पहिलो आइतबार मन्दिरमा नियमित पूजा हुँदै आएको छ।


























