तनहुँमा प्रहरीको ‘क्लीन स्वीप अपरेशन’ : एकै दिनमा २७ जना नियन्त्रणमा
दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले सञ्चालन गरेको लागुऔषध नियन्त्रण सम्बन्धी विशेष “क्लीन स्वीप अपरेशन” अन्तर्गत एकै दिनमा २७ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार २०८३ बैशाख १० गते बिहानदेखि ११ गते बिहानसम्म सञ्चालन गरिएको अपरेशनमा लागुऔषध ओसारपसार तथा प्रयोगमा संलग्न २६ जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीका अनुसार १ जनामाथि कानुन बमोजिम अनुसन्धान अघि बढाइएको छ भने १ जनालाई परिवारको समन्वयमा सुधार गृह पठाइएको छ।
अन्य व्यक्तिहरूको हकमा स्क्रिनिङ गरी विवरण अभिलेखीकरण, आपराधिक रेकर्ड जाँच तथा आवश्यक परामर्शपछि परिवारको जिम्मा लगाई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।
प्रहरीकाे यो अपरेशनलाई जिल्लाकै इतिहासमा छोटो समयमै ठूलो संख्यामा लागुऔषधसम्बन्धी व्यक्तिहरू नियन्त्रणमा लिएको महत्वपूर्ण अभियानको रूपमा लिइएको छ। अभियानका क्रममा लागुऔषध बिक्री–वितरण, दुर्व्यसन, टोलेगुण्डागर्दी तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने व्यक्तिहरूमाथि निगरानी बढाइएको थियो।

प्रहरीले यस्ता गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने जनाउँदै टोलेगुण्डा, लागुऔषध सेवनकर्ता तथा सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्नेहरूमाथि समेत कडाइ गरिने जनाएको छ।


























