तनहुँ बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, ३१ जना घाइते

तनहुँ बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, ३१ जना घाइते


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारस्थित पृथ्वी राजमार्गमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने कुल ३१ जना घाइते भएका छन्। घाइतेमध्ये २७ जनालाई पोखरास्थित मणिपाल अस्पताल र अन्नपूर्ण अस्पतालमा रिफर गरिएको छ।
बैशाख ११ गते दिउँसो करिब ३:५५ बजे पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो। उक्त बस पृथ्वी समिति अन्तर्गत सञ्चालनमा रहेको बताइएको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी सबै घाइतेलाई जिपी अस्पताल पुर्‍याएको थियो। प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका सहित २७ जनालाई पोखरा रिफर गरिएको हो।
हाल घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर, १४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ। १ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ३ जनाको जिपी अस्पतालमै उपचार भइरहेको छ।


प्रारम्भिक अनुसन्धान अनुसार बस अत्यधिक गतिमा रहेको र मोटरसाइकलसँग जोगिन खोज्दा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको नामावली विवरण आउन बाँकी रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page