आइतबार विदा विषयमा व्यास नगरपालिकामा आज छलफल हुने
तनहुँ — व्यास नगरपालिका ले सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू एवम् प्याव्सन , एनप्याब्सनलाई आइतबार विदा सम्बन्धी विषयमा छलफल गर्न निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै नगर शिक्षा समितिको २०८३ वैशाख २ गतेको निर्णयअनुसार उक्त व्यवस्था गरिएको जनाएको हो।
सूचनामा पछिल्लो समय आइतबार विदा सम्बन्धमा सामाजिक सञ्जालमा विभिन्न धारणा र टिप्पणी आएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विद्यालयको पठनपाठन नियमित र प्रभावकारी बनाउन तथा पाठ्यक्रम समयमै सम्पन्न गर्न आवश्यक छलफल गर्न लागिएको जनाइएको छ।
यसअनुसार वैशाख १७ गते बिहान १०:१५ बजेदेखि सबै विद्यालयमा शिक्षक स्टाफ बैठक बस्नेछ। उक्त बैठकमा आइतबार विदासम्बन्धी विषयमा छलफल गरी निर्णय गर्न भनिएको छ।
त्यसपछि सोही दिन अर्थात आजनैँ दिउँसो १२:१५ बजे व्यास नगरपालिकाको सभाहलमा आयोजना हुने बैठकमा सबै प्रधानाध्यापकहरूले अनिवार्य रूपमा निर्णयको प्रतिलिपि सहित उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्यले सम्बन्धित सबैलाई समयमै उपस्थित भई सहकार्य गर्न समेत अनुरोध गरेको जनाएका छन्।


























