आइतबार विदा विषयमा व्यास नगरपालिकामा बसेकाे बैठक निष्कर्षविहीन
तनहुँ — आइतबार विदा सम्बन्धी विषयमा व्यास नगरपालिका मा आज भएको छलफल बिना निष्कर्ष टुङ्गिएको छ। नगर प्रमुख बैकुण्ठ न्यौपाने, शिक्षा शाखा प्रमुख केदार आचार्य लगायतको टोली तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, प्याव्सन र एनप्याब्सन का पदाधिकारीसहित करिब ८० जना सहभागी भएर बैठक बसेको थियो।
नगरपालिकाले यसअघि आइतबार विदा सम्बन्धी विषयमा छलफल गर्न सबै विद्यालयलाई निर्देशन दिएको थियो। सोहीअनुसार बिहान विद्यालयहरूमा शिक्षक स्टाफ बैठक बसेर धारणा संकलन गरिएको थियो भने दिउँसो सभाहलमा अन्तिम छलफल आयोजना गरिएको थियो।
बैठकका क्रममा केन्द्र सरकारको निर्णयअनुसार आइतबार विदा दिने विषयमा अधिकांश पक्ष सहमत देखिए पनि नगरपालिकाले विद्यालय खुला राख्ने धारणा राखेपछि विवाद चर्किएको सहभागीहरूले बताएका छन्। छलफलका क्रममा व्यापक मतभेद, हल्लाखल्ला र असहमति देखिएपछि कुनै ठोस निष्कर्ष ननिस्की बैठक टुङ्गिएको हो।

अब आइतबार विदा सम्बन्धमा नगरपालिकाले छुट्टै सूचना जारी गर्ने र शिक्षा शाखाले आवश्यक निर्णय गर्ने बताइएको छ। बैठकमा सहभागी एक प्रधानाध्यापकका अनुसार तत्काल कुनै सहमति नजुटेकाले थप निर्णय शिक्षा समितिले गर्ने भएको छ।


























