बालिकाको सुनका मुन्द्रा चोरी गर्ने महिला पक्राउ

बालिकाको सुनका मुन्द्रा चोरी गर्ने महिला पक्राउ

पोखरा महानगरपालिका–२५ हेम्जा रामचोकमा ६ वर्षीया बालिकालाई ललाई फकाई गरी कानमा लगाएको सुनका मुन्द्रा चोरी गर्ने एक महिला पक्राउ परेकी छन्।
वैशाख ६ गते साँझ करिब ४:५५ बजे बालिकालाई “तिम्रो ममीको साथी हुँ” भनी विश्वास दिलाउँदै जुस र आइसक्रिम खुवाई कानबाट सुनका दुई थान मुन्द्रा (करिब रु. १ लाख बराबर) चोरी गरिएको उजुरी प्राप्त भएको थियो।
अनुसन्धानका क्रममा स्याङ्जा चापाकोट–३ स्थायी घर भई हाल पोखरा–१० रामबजार बस्ने २५ वर्षीया अम्बिका पुलामी मगरलाई वैशाख १७ गते पोखरा–९ महेन्द्रपुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार सीसीटीभी फुटेजमा ग २५ प ३५८४ नम्बरको स्कुटरमा पहेंलो रेनकोट लगाएर एक महिला बालिकालाई लैजाँदै गरेको देखिएको थियो। उक्त स्कुटर ‘A One Motorbike Rental and Tours’ बाट वैशाख १ गते अम्बिका पुलामी मगरले भाडामा लिएको खुलेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा उनले बालिकालाई फकाई मुन्द्रा निकालेर फरार भएको खुलेको छ। साथै, उनको नाममा कास्कीमा १८ वटा चोरी तथा डाँका सम्बन्धी मुद्दा बाँकी रहेको समेत देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page