माँ अम्बे कृषि फर्मकी सञ्चालक कल्पना द्वारा गौ संरक्षण केन्द्रमा १ लाख ११ हजारको अक्षय कोष स्थापना
दमौली — तनहुँको व्यास नगरपालिका–५, पाटनस्थित माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालक, सामाजिक व्यक्तित्व तथा महिला उद्यमी कल्पना गौलीले गौ संरक्षणका लागि उल्लेखनीय सहयोग गरेकी छन्। उनले व्यास–१० भतेरीस्थित गौ संरक्षण केन्द्रमा १ लाख ११ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेकी हुन्।
गौ संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कोषबाट केन्द्रमा रहेका गाईहरूको हेरचाह, आहार व्यवस्थापन तथा आवश्यक सेवामा सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै गौलीले सामाजिक उत्तरदायित्वअन्तर्गत गौ संरक्षणमा योगदान दिन पाउँदा खुशी लागेको बताइन्। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा परोपकारी कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।
उक्त कार्यक्रममा स्थानीय समाजसेवी, सरोकारवाला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो सहयोगले गौ संरक्षण केन्द्रको दीगो व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन्।
गौ संरक्षण केन्द्रले उक्त रकमलाई अक्षय कोषका रूपमा व्यवस्थापन गरी त्यसबाट प्राप्त हुने आम्दानीलाई गाईहरूको संरक्षण तथा सेवामा खर्च गर्ने जनाएको छ।
यसैबीच, गौमाता अक्षय कोष स्थापनाका लागि तुलसीराम सापकोटाबाट रु ७५,५५५ तथा जया न्यौपानेबाट रु ६१,१११ सहयोग गर्ने घोषणा गरिएको छ। गौ संरक्षण परिवारले उक्त योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै सबैलाई कोषमा जोडिएर गौसेवामा सहभागी हुन आग्रह गरेको छ।

उक्त अवसरमा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, पूर्व वडाअध्यक्ष तुलसीराम सापकोटा लगायतको उपस्थिति रहेको थियो।


























