म्याग्देमा सहकारी अभिमुखीकरण तथा प्रशिक्षण सुरु




तनहुँको म्याग्दे गाउँपालिका मा सहकारी संस्थाहरूका लागि दुईदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको सहकारी शाखाको आयोजनामा वैशाख २४ र २५ गते सञ्चालन हुने कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरे तथा वडा नं. ७ का अध्यक्ष वसन्त श्रेष्ठ ले सहकारीको महत्व र वर्तमान अवस्थाबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी ले सहकारीको सिद्धान्त, उद्देश्य, प्रकार लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारी क्षेत्रमा देखिएका समस्या, चुनौती, वर्तमान अवस्था, संकटका कारण, सुधारका उपाय तथा डिजिटल प्रविधिको प्रयोग र त्यसका फाइदाबारे प्रशिक्षण दिनुभएको थियो । साथै सहकारी र नेपालको अर्थतन्त्रबीचको सम्बन्धबारे पनि जानकारी गराइएको थियो ।
त्यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष प्रदिप राज अधिकारी ले सहकारीमा कसुर, दण्ड, जरिवाना, पुनरावेदन तथा मिलापत्र सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिका सहकारी शाखा प्रमुख प्रदिप न्यौपाने ले गर्नुभएको थियो ।

म्याग्दे गाउँपालिकामा हाल विभिन्न उद्देश्यका २६ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् । प्रशिक्षणमा प्रशिक्षक पप्पुकुमार यादव ले आज र भाेली प्रशिक्षण दिने जनाइएको छ ।


























