त उ वा संघ दमौली बजार इकाई र चरक मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता
दमौली, जेठ २५ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई र चरक मेमोरियल अस्पताल पोखराबीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। उक्त सम्झौताअनुसार उद्योग वाणिज्य संघका सदस्य, कर्मचारी तथा उनीहरूका परिवारजनले अस्पतालका विभिन्न सेवामा छुट सुविधा प्राप्त गर्नेछन् ।
सम्झौताअनुसार अस्पताल सेवामा (ओटी शुल्कसहित) १५ प्रतिशत, फार्मेसी सेवामा ५ प्रतिशत तथा अल्ट्रासाउन्ड (USG) सेवामा ३० प्रतिशत छुट प्रदान गरिनेछ। परामर्श शुल्क र उपभोग्य सामग्रीमा भने छुट लागू नहुने उल्लेख गरिएको दमाैली बजार इकाई सचिव सिमरन चन्दले बताइन् ।
यो सुविधा प्राप्त गर्न संघका दर्तावाला सदस्य, सदस्य संस्थाका कर्मचारी तथा नजिकका परिवारका सदस्यहरूले वैध सदस्यता कार्ड वा सिफारिस पत्र र परिचयपत्र पेश गर्नुपर्नेछ।स्वास्थ्य सेवामा सहज पहुँच र आर्थिक राहत प्रदान गर्ने उद्देश्यले गरिएको यस सम्झौताबाट तनहुँ उद्योग वाणिज्य संघसँग आबद्ध व्यवसायी तथा उनका परिवार लाभान्वित हुने इकाई सभापति सेशराज श्रेष्ठले बताए । सम्झौता कार्यक्रममा इकाई सहसचिव ठाकुर प्रसाद पाैडेल लगायतकाे सहभागीता रहेको थियो ।





























