सडक दुर्घटना न्यूनीकरणका लागि तनहुँ ट्राफिकको सक्रियता
तनहुँ, जेठ २६ — मुग्लिन–पोखरा सडक खण्डमा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले राजमार्ग चेकजाँच, गति नियन्त्रण तथा चालक सचेतना कार्यक्रमलाई तिव्र पारेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक एकनारायण खनालका अनुसार सडक सुरक्षा कायम राख्न नियमित रूपमा स्पिड जाँच तथा चालकहरूलाई ट्राफिक नियमबारे सचेत गराउने कार्य भइरहेको छ। उनका अनुसार कालो नम्बर प्लेट भएका सवारी साधनलाई प्रतिघण्टा ५०–५५ किलोमिटर र रातो नम्बर प्लेट भएका सवारी साधनलाई ६५–७० किलोमिटर प्रतिघण्टाको गति सीमाभित्र सञ्चालन गर्न निर्देशन दिइएको छ।
निर्धारित गति सीमा नाघ्ने सवारी चालकलाई प्रचलित कानुनअनुसार जरिवाना गरिनुका साथै आवश्यकताअनुसार सचेतना र सम्झाइबुझाइसमेत गरिने खनालले बताए।

उनले अधिकांश सडक दुर्घटना चालकको लापरबाही, अत्यधिक गति तथा सवारी साधनमाथि नियन्त्रण गुमाउँदा हुने गरेको उल्लेख गर्दै ट्राफिक नियमको पालना, सुरक्षित गति र चालकको सतर्कताले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। सबै चालकलाई जिम्मेवार र सावधानीपूर्वक सवारी सञ्चालन गर्न उनले आग्रह गरेका छन्।





























