कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, दोषीमाथि कारबाहीको माग
चितवन, असार १८ – इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट भएको घटनाप्रति गाउँपालिकाले गम्भीर आपत्ति जनाएको छ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार बिहान करिब ११ बजे निर्माण व्यवसायी किरणफेर कन्स्ट्रक्सनका प्रोप्राइटर लालबहादुर तामाङसहित ६ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी सामूहिक आक्रमण गरेको हो। विज्ञप्तिमा उनीहरूले ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नुका साथै परिवारलाई समेत नछोड्ने भन्दै धम्की दिएको उल्लेख गरिएको छ।
घटनाको गाउँपालिकाका सम्पूर्ण कर्मचारीले भर्त्सना गर्दै दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। कार्यालय समयमै कार्यकक्षभित्र भएको यस घटनाले कर्मचारीको सुरक्षा र निर्भय रूपमा काम गर्ने वातावरणमाथि गम्भीर प्रश्न उठाएको कर्मचारीहरूको भनाइ छ ।

विज्ञप्तिमा दोषीमाथि कानुनी कारबाही नभएसम्म कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै यस्ता घटना पुनः नदोहोरिने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
यस घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको भए पनि घटनामा संलग्नमाथि कारबाही सम्बन्धी थप विवरण सार्वजनिक भइसकेको छैन।


























