लागुऔषध सेवन गरेर बस चलाउने तनहुँका चालक पक्राउ, लाइसेन्स निलम्बन प्रक्रियामा

लागुऔषध सेवन गरेर बस चलाउने तनहुँका चालक पक्राउ, लाइसेन्स निलम्बन प्रक्रियामा


पोखरा, असार २५ – लागुऔषध सेवन गरेर सार्वजनिक बस चलाइरहेका तनहुँका एक चालकलाई कास्की प्रहरीले पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ।
पोखरा महानगरपालिका–१० औद्योगिक क्षेत्रस्थित सवारी चेकजाँचका क्रममा पोखरा–दमौली रुटमा सञ्चालन हुँदै आएको ग१ख ९६४७ नम्बरको बसका चालक तनहुँको भिमाद नगरपालिका–२ भानुमती निवासी ३० वर्षीय अभिनास गुरुङ लागुऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन्। त्यसबेला बसमा १८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज दिउँसो करिब २ बजे नियमित सवारी चेकजाँचका क्रममा चालकको अवस्था शंकास्पद देखिएपछि परीक्षण गर्दा लागुऔषध सेवन गरेको पुष्टि भएको थियो। त्यसपछि चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय रामबजार पठाइएको छ।
प्रहरीले लागुऔषध सेवन गरी सार्वजनिक सवारी चलाउनु गम्भीर कानुनी अपराध भएको तथा यसले यात्रुको ज्यान जोखिममा पार्ने भएकाले यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइएको जनाएको छ।


यसैबीच, पक्राउ परेका चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि आवश्यक कागजातसहित यातायात व्यवस्था कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ। साथै, मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी नचलाउन सार्वजनिक सवारी चालकलाई आग्रह गर्दै यस्ता कसुरमा संलग्न जो–कोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page