मुग्लिन–पोखरा सडक आयोजनाकाे पश्चिम खण्डमा कालोपत्रेकाे काम सुरु
मुग्लिन–पोखरा सडक आयोजनाकाे पश्चिम खण्डमा कालोपत्रेकाे काम सुरु भएको छ । जसअनुसार म्याग्दे गाउँपालिकाकाे जामुने – थर्पु सडकखण्ड शुक्लागण्डकी नगरपालिकाकाे खैरेनीटार – काेत्रे सडक खण्डमा गरि करिब ११ सय मिटर दुरिमा कालोपत्रेकाे काम भएको हो । जामनुे- कोत्रे खण्डको पाँच किलोमिटर दूरी फागुन १५ भित्र कालोपत्रे गर्ने कन्टयाक्टरले प्रतिबद्धता जनाए अनुरुप प्रक्रिया अघि बढाइएको हो ।

कालोपत्रमा प्रयोग गरिएका इक्युमेन्ट तथा कच्चा पदार्थ ठीक छ कि छैन भनेर कालोपत्रे परीक्षण गरेपछि कालोपत्रे गरिएको सुपरभिजन कन्स्ल्टेन्टका रेसिडेन्ट इन्जिनियर हेम श्रेष्ठले जानकारी दिए । कालोपत्रे कार्य थालिएसंगै जहाँ जहाँ कालोपत्रेको लागि तयारी भएको छ सोही स्थानमा कालोपत्र गर्दै अघि बढिएको उनले बताए । पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका कार्य भइरहेको छ । पश्चिम खण्डमा हालसम्म १५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । राजमार्गको पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी रहेको छ ।

पश्चिम खण्डका लागि रु.७ अरब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।
























