धान दिवसमा तनहुँका चार उत्कृष्ट कृषक सम्मानित
२१ औ राष्ट्रिय धान दिवसको अवसरमा कृषि ज्ञान केन्द्र तनहुँँले जिल्लाका उत्कृष्ट चार कृषकलाई शनिबार सम्मान गरेको छ । सम्मान पाउनेमा कृषिका दुई र पशुपालनका दुई रहेका छन् ।

सम्मानित हुनेमा कृर्षि तर्फबाट बन्दीपुर गाउँपालिका–१ स्थित तरकारी खेती गर्ने ढकाल नर्सरी फर्मका सञ्चालक दमोदर ढकाल, धान, मकै, बेमौसमी तरकारी, कफी, घाँस तथा फलफूल खेती गर्ने र भानु नगरपालिका–९ का कडरिया एकिकृत कृषि फमका सञ्चालक वाशुराज कडरिया रहेका छन् । ढकालले ७५ रोपनी जमिनमा तरकारी खेती गरेका छन् भने कडरियाले २० रोपनी क्षेत्रमा सबै प्रकारका खेती गरेका छन् ।

यसैगरी पशुपालन तर्फबाट सम्मानित हुनेहरुमा शुक्लागण्डकी नगरपालिका–१० का युनिक मल्ट्री एग्रो प्रालिका सञ्चालक हरिबहादुर खड्का र व्यास नगरपालिका–११ फराकचौर स्थित गण्डकी नेपाल इन्भेष्टमेन्ट की सञ्चालिका भगवती जिसी छन् । खड्काले ७५ वटा उन्नत जातका भैंसी, पाँच वटा गाई, सात हजार पाँच सय वटा लोकल कुखुरा पालेका छन् भने जिसीले ८० वटा उन्नत जातको गाई पालेका छन् ।
कृषकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम , कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले सयुक्त रुपमा सम्मानपत्र तथा नगद १० हजार प्रदान गरेका थिए । म्याग्दे गाउँपालिका र कृषि ज्ञानकेन्द्रकाे संयुक्त आयाेजनामा म्याग्देकाे काेइरालाथाेकमा भएको कार्यक्रममा कृषकहरू लाई सम्मान गरिएको हाे ।






























